सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाली श्रमिकको गन्तव्य विस्तार , ११ महिनामा ७ लाखभन्दा बढी नेपाली बिदेसिए

बुधबार, असार ३ २०८३

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा सात लाख २२ हजार ८४१ नेपाली वैदेशिक रोजगारीका लागि बिदेसिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार उक्त संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको हो।

आर्थिक वर्ष सकिन अझै एक महिना बाँकी रहेकाले यस वर्ष पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत वर्षकै हाराहारीमा पुग्ने संकेत देखिएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए।

विभागको तथ्यांकअनुसार जेठ महिनामा मात्रै ६१ हजार ७२ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यो संख्या अघिल्लो महिना वैशाखको तुलनामा कम हो। वैशाखमा ७४ हजार ४२९ नेपालीले श्रम स्वीकृति लिएका थिए।

जेठ महिनामा श्रम स्वीकृति लिनेहरूमध्ये ५३ हजार ६९८ जना पुरुष र सात हजार ३७४ जना महिला रहेका छन्। यसले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमध्ये पुरुषको संख्या महिलाको तुलनामा निकै बढी रहेको देखाउँछ।

वैदेशिक रोजगारीप्रति नेपाली युवाको आकर्षण अझै उच्च रहेको देखिन्छ। नेपालको अर्थतन्त्रमा रेमिट्यान्स प्रमुख स्रोतका रूपमा रहँदै आएको अवस्थामा विदेश जाने क्रम निरन्तर जारी छ।

गन्तव्य मुलुकका आधारमा हेर्दा जेठ महिनामा नेपाली श्रमिकको पहिलो रोजाइ मलेसिया बनेको छ। मलेसियाका लागि १४ हजार १९२ जनाले श्रम स्वीकृति लिएका छन्। दोस्रो स्थानमा संयुक्त अरब इमिरेट्स (यूएई) रहेको छ, जहाँ १२ हजार ४५५ जना नेपाली जाने तयारीमा छन्।

त्यसैगरी कतारका लागि १० हजार २१० जना, साउदी अरबका लागि सात हजार ५१९ जना, रोमानियाका लागि दुई हजार ५१५ जना, कुवेतका लागि एक हजार ९६७ जना तथा जापानका लागि एक हजार ७५९ जनाले श्रम स्वीकृति लिएका छन्।

पछिल्ला वर्षहरूमा मलेसिया र खाडी मुलुकमा केन्द्रित नेपाली श्रमिकको गन्तव्य विस्तार हुँदै गएको देखिन्छ। विशेषगरी रोमानिया, जापान तथा साइप्रसजस्ता नयाँ श्रम गन्तव्यप्रति नेपाली श्रमिकको आकर्षण बढ्दो छ।

सीपका आधारमा गरिएको विश्लेषणले वैदेशिक रोजगारीमा जानेमध्ये दक्ष कामदारको संख्या सबैभन्दा बढी रहेको देखाएको छ। विभागका अनुसार जेठ महिनामा ३७ हजार ३९१ जना दक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन्। यसले विदेश जाने नेपाली श्रमिकमा सीप हासिल गर्ने प्रवृत्ति क्रमशः बढिरहेको संकेत गरेको छ।

यद्यपि १४ हजार ९९४ जना अझै पनि अदक्ष कामदारका रूपमा विदेशिएका छन्। त्यस्तै अर्धदक्ष श्रमिकको संख्या आठ हजार ३२८, व्यावसायिक श्रमिक २९६ र उच्च दक्ष श्रमिक ६३ जना रहेका छन्। सरकारले दक्ष जनशक्ति उत्पादन र निर्यातमा जोड दिँदै आए पनि ठूलो संख्यामा अदक्ष श्रमिक विदेशिनु चुनौतीका रूपमा रहेको विज्ञहरू बताउँछन्।

जिल्लागत रूपमा हेर्दा तराईका जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य छ। विभागका अनुसार धनुषाबाट सबैभन्दा बढी दुई हजार ८३१ जनाले श्रम स्वीकृति लिएका छन्। झापाबाट दुई हजार ६४४ जना र मोरङबाट दुई हजार ४५३ जना वैदेशिक रोजगारीका लागि विदेशिएका छन्।

महिनागत तथ्यांकअनुसार साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२, असोजमा ६४ हजार ६३४, कात्तिकमा ७३ हजार ९४, मंसिरमा ६५ हजार ७०५, पुसमा ६२ हजार ५५९, माघमा ७० हजार ५०३, फागुनमा ५२ हजार ९४४, चैतमा ६१ हजार ८१९, वैशाखमा ७४ हजार ४२९ र जेठमा ६१ हजार ७२ जनाले श्रम स्वीकृति लिएका छन्।

विभागको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्च रहँदा मुलुकभित्र रोजगारी सिर्जना, सीप विकास र उत्पादनशील क्षेत्रमा युवालाई आकर्षित गर्ने चुनौती अझै कायम रहेको देखाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार