काठमाडौँ(जस)–वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको विस्तृत विवरण पेस गर्न म्यानपावर कम्पनीहरूलाई निर्देशन दिएको छ । विभागले सोमबार एक सूचना जारी गर्दै इजाजतपत्र प्राप्त सबै वैदेशिक रोजगार व्यवसायी संस्थाहरूलाई विगत तीन महिनामा स्वदेशी विमानस्थल प्रयोग गरी वैदेशिक रोजगारीमा पठाइएका कामदारहरूको विवरण ३ दिनभित्र बुझाउन निर्देशन दिएको हो । विभागका अनुसार व्यवसायीहरूले १ चैत २०८२ देखि ३१ जेठ २०८३ सम्म कति श्रमिक वैदेशिक रोजगारीमा पठाएको हो, कुन विमानस्थल प्रयोग गरेर उडाएको हो लगायतका सबै विवरण उपलब्ध गराउनुपर्नेछ ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ मा वैदेशिक रोजगारीमा कामदार पठाउँदा अनिवार्य रूपमा स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थाको कार्यान्वयनको अवस्था बुझ्न र अनुगमनलाई प्रभावकारी बनाउन विभागले यो विवरण माग गरेको जनाएको छ । म्यानपावर कम्पनीहरूले विभागले तोकेको निश्चित ढाँचामा विवरण तयार पार्नुपर्नेछ । जसमा कामदारको नाम, राहदानी नम्बर, श्रम स्वीकृति प्राप्त मिति, गन्तव्य मुलुक, उडान भएको मिति र प्रयोग गरिएको विमानस्थल प्रष्ट रूपमा खुल्नुपर्ने विभागले जनाएको छ । तोकिएको समयभित्र विवरण पेस नगर्ने वा गलत विवरण दिने संस्थाहरूलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने विभागको चेतावनी छ ।
यसअघि, विभागले वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने इजाजत पत्र प्राप्त म्यानपावर कम्पनीहरूले पत्रपत्रिकामा प्रकाशित गर्ने विज्ञापनमा अनिवार्य रूपमा आधिकारिक सम्पर्क व्यक्तिको नाम र मोबाइल नम्बर खुलाउनुपर्ने व्यवस्था गरेको थियो । विज्ञापनमा सम्पर्क गर्ने ठाउँ र व्यक्तिको स्पष्ट विवरण नहुँदा सर्वसाधारण ठगीमा पर्न सक्ने र वास्तविक इच्छुक कामदारले आवेदन दिनै नपाउने अवस्था सिर्जना भएको भन्दै विभागले यस्तो निर्देशन दिएको थियो । नियमअनुसार वैदेशिक रोजगारीका लागि श्रमिक माग गर्दा राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने र सोको जानकारी विभागलाई दिनुपर्ने प्रावधान छ ।
तर, पछिल्लो समय प्रकाशित विज्ञापनहरूमा तोकिएको सम्पर्क नम्बरमा फोन नउठ्ने वा आधिकारिक व्यक्ति नभेटिने जस्ता गुनासाहरू विभागमा थुप्रिएका थिए । यसले गर्दा वैदेशिक रोजगारीमा जान चाहने युवाहरू अलमलमा परेको र प्रक्रिया पारदर्शी नभएको विभागको निष्कर्ष छ । सोही कारण विभागले अबदेखि विज्ञापन गर्दा आधिकारिक सम्पर्क व्यक्तिको नाम, मोबाइल नम्बर र संस्थाको ठेगाना स्पष्ट रूपमा उल्लेख गर्न भनेको छ । साथै, वैदेशिक रोजगारीको माग पत्रमा पूर्व–स्वीकृति लिन आवेदन दिँदा नै यी विवरणहरू अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।