शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

‘गोल युएसए २०२६’ फाइनल्समार्फत काठमाडौंमा विश्वकपको रोमाञ्च

युवा खेलाडीलाई प्रोत्साहन गर्दै अमेरिकी दूतावास नेपालको विशेष पहल

शनिबार, जेष्ठ ३० २०८३

उर्मिला खत्री,काठमाण्डौ-नेपालस्थित अमेरिकी दूतावासले फिफा विश्वकप २०२६™ को उत्साह नेपाली युवामाझ पुर्‍याउने उद्देश्यसहित ‘गोल! यूएसए २०२६ फाइनल्स’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। खेलकुदमार्फत मित्रता, सहकार्य र युवा सशक्तीकरणको सन्देश प्रवाह गर्ने लक्ष्यका साथ आयोजित कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट छनोट भएका प्रतिभावान युवा फुटबल खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको ‘फ्रिडम २५०’ अभियान अन्तर्गत अमेरिकी दूतावास नेपालले आयोजना गरेको उक्त कार्यक्रममा विराटनगर, सुर्खेत, भैरहवा र पोखराबाट छनोट भएका उत्कृष्ट युवा खेलाडीहरू काठमाडौंमा भेला भएका थिए।
गत केही सातादेखि देशका विभिन्न सहरमा सञ्चालन गरिएका फुटबल सीप प्रतियोगितामा सयौँ युवा खेलाडी सहभागी भएका थिए। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले राष्ट्रिय फाइनल्समा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेका हुन्। प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूमा आत्मविश्वास, अनुशासन र खेलभावनाको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा युवा खेलाडीहरू तथा चर्चित खेलकर्मी सम्मिलित टोली र अमेरिकी दूतावासका कर्मचारीहरूको टोलीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको थियो। प्रतिस्पर्धात्मक भए पनि खेलले खेलकुदमार्फत सम्बन्ध विस्तार, मित्रता अभिवृद्धि र सांस्कृतिक आदानप्रदानलाई प्राथमिकता दिएको देखिन्थ्यो।
कार्यक्रमको उद्घाटन गर्दै नेपालका लागि अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कोट उर्बोमले खेलकुदले दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले भने,“‘गोल! यूएसए’ संयुक्त राज्य अमेरिका र नेपालबीच रहेको दीर्घकालीन मित्रताको प्रतीक हो। अमेरिका फिफा विश्वकप २०२६ को तयारीमा जुटिरहेका बेला नेपालका युवासँग यो उत्साह साट्न पाउँदा हामी गौरवान्वित छौँ। यस्ता कार्यक्रमले हाम्रा समुदायहरूलाई अझ नजिक ल्याउने र आपसी सम्बन्धलाई थप सुदृढ बनाउने काम गर्छन्।”
अमेरिकी दूतावास नेपालका अनुसार कार्यक्रमको उद्देश्य युवा खेलाडीहरूलाई प्रेरणा दिनु, खेल प्रतिभाको विकासमा सहयोग पुर्‍याउनु तथा नेतृत्व, अनुशासन, टोलीभावना र सकारात्मक प्रतिस्पर्धाको संस्कार विकास गर्नु हो।
विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप २०२६™ को प्रतियोगिता शुरु भैसकेको अवस्थामा अमेरिकी दूतावास नेपालको यस पहलले नेपाली युवाहरूलाई विश्वकपको उत्साह र अनुभूति दिलाएको छ।
खेलकुदलाई माध्यम बनाएर युवा प्रतिभाको विकास, अन्तर्राष्ट्रिय मित्रता विस्तार तथा नेपाल–अमेरिका सम्बन्धलाई जनस्तरसम्म थप सुदृढ बनाउने अमेरिकी दूतावास नेपालको प्रयासका रूपमा ‘गोल! यूएसए २०२६ फाइनल्स’ लाई सहभागीहरूले महत्वपूर्ण र प्रेरणादायी कार्यक्रमका रूपमा लिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार