काठमाडौं,स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयन प्रक्रिया सम्पन्न भएको छ। अधिकांश पदमा सहमति कायम भएपछि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको हो भने कोषाध्यक्ष पदमा मात्र निर्वाचन भएको थियो। निर्वाचन समितिले अन्तिम परिणाम सार्वजनिक गर्दै नयाँ कार्यसमितिको औपचारिक घोषणा गरेको छ।
इप्पानको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतः अध्यक्ष बनेका छन्। वरिष्ठ उपाध्यक्ष पदमा उत्तम भ्लोन लामा निर्विरोध निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी बलराम खतिवडाले उम्मेदवारी फिर्ता लिएपछि लामाको निर्विरोध चयन भएको हो।
त्यसैगरी महासचिवमा टीएन आचार्य तथा उपमहासचिवमा कविता पोखरेल सर्वसम्मत निर्वाचित भएका छन्। उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य, हिम पाठक, विक्रम विष्ट र नरेन्द्र बल्लभ पन्त चयन भएका छन्।
सचिव पदमा कृष्ण घिमिरे, कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी र विजयमोहन भट्टराई निर्वाचित भएका छन्। सचिव पदमा निर्वाचित भएका कृष्ण घिमिरे ऊर्जा क्षेत्रका परिचित व्यवसायी तथा बिकास हाइड्रो, बुढिगण्डकी हाइड्रो र सांग्रिला हाइड्रोका प्रबन्ध निर्देशक (एमडी) समेत हुन्।
निर्वाचनमा एक मात्र प्रतिस्पर्धात्मक पद रहेको कोषाध्यक्षमा शंकर बस्याल विजयी भएका छन्। उनले प्रतिस्पर्धी मिथुन पौडेललाई पराजित गर्दै कोषाध्यक्ष पदमा जित हासिल गरेका हुन्।
नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीले इप्पानको नेतृत्व सम्हाल्दै निजी ऊर्जा क्षेत्रका साझा मुद्दालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नेपाललाई ऊर्जा सम्पन्न राष्ट्रका रूपमा स्थापित गर्न निजी क्षेत्रको भूमिका अझ महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै जलविद्युत् विकास, प्रसारण पूर्वाधार विस्तार, ऊर्जा व्यापार तथा लगानीमैत्री वातावरण निर्माणमा इप्पानले सशक्त भूमिका खेल्ने बताए।
“नेपालको आर्थिक समृद्धिको प्रमुख आधार ऊर्जा क्षेत्र नै हो। निजी क्षेत्रले जलविद्युत् विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ। अब उत्पादनसँगै प्रसारण, वितरण र अन्तरदेशीय विद्युत् व्यापारका क्षेत्रमा देखिएका चुनौती समाधान गर्दै ऊर्जा क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता छ,” अध्यक्ष डाँगीले भने।
उनले ऊर्जा क्षेत्रमा देखिएका नीतिगत जटिलता, लगानीका समस्या तथा परियोजना कार्यान्वयनका अवरोध हटाउन सरकारसँग निरन्तर संवाद र सहकार्य गरिने बताए। साथै निजी क्षेत्रका लगानीकर्ताको विश्वास बढाउने, विद्युत् निर्यातको दायरा विस्तार गर्ने तथा ऊर्जा क्षेत्रलाई थप प्रतिस्पर्धी र व्यवस्थित बनाउने दिशामा नयाँ कार्यसमिति केन्द्रित हुने उनको भनाइ छ।
इप्पानको नयाँ नेतृत्व चयनसँगै निजी ऊर्जा क्षेत्रले नयाँ उत्साह प्राप्त गरेको सरोकारवालाहरूको भनाइ छ। ऊर्जा उत्पादन, प्रसारण लाइन निर्माण, विद्युत् व्यापार तथा लगानी प्रवर्द्धनका क्षेत्रमा इप्पानले आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नवनिर्वाचित कार्यसमितिले जलविद्युत् क्षेत्रका साझा मुद्दा, लगानीकर्ताका समस्या तथा ऊर्जा क्षेत्रको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ। नेपालको ऊर्जा समृद्धिको यात्रामा निजी क्षेत्र र राज्यबीचको सहकार्यलाई अझ मजबुत बनाउने लक्ष्यसहित इप्पानको नयाँ नेतृत्वले आफ्नो कार्यकाल सुरु गरेको छ।
