सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एयरपोर्टभित्र ‘काउन्टर सेटिङ’ गर्ने नेपाल एयरलाइन्सका दुई पक्राउ, भारतको बोर्डिङ पास देखाएर तेस्रो मुलुक पठाउने खेलको खुलासा

मंगलबार, जेष्ठ २६ २०८३

काठमाडौं(जस)–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट सञ्चालन हुँदै आएको भनिएको ‘काउन्टर सेटिङ’ तथा भिजिट भिसाको आवरणमा हुने अवैध मानव ओसारपसारको जालोमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा निगमको ग्राउण्ड ह्याण्डलिङ सेवामा करारमा कार्यरत प्रबिन लामिछाने र सुमित्रा चन्द रहेका छन् । अध्यागमन विभागले विमानस्थलभित्रबाट यात्रु उडान प्रक्रियामा शंकास्पद गतिविधि भइरहेको सूचना पाएपछि प्रारम्भिक अनुसन्धान थालेको थियो । त्यसक्रममा संकलित प्रमाण तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको समन्वयमा प्राप्त विवरणका आधारमा थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरिएको थियो । सोही आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले आइतबार दुवै जनालाई पक्राउ गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका कर्मचारीहरूले भारत जाने बोर्डिङ पासको आवरणमा यात्रुलाई सुरक्षा जाँच र अध्यागमन प्रक्रिया पार गराई वास्तविक रूपमा तेस्रो मुलुक पठाउने काम गर्दै आएका थिए । अनुसन्धानका क्रममा एक भारतीय नागरिकलाई सुरुमा भारत जाने बोर्डिङ पास उपलब्ध गराइएको, सुरक्षा जाँच पार गरेपछि दुबई जाने अर्को बोर्डिङ पास दिएर उडाइएको तथ्य फेला परेको छ । अध्यागमन अभिलेखअनुसार ती भारतीय नागरिक जेठ ३ गते दुबई पुगेका थिए । तर विमानस्थल प्रवेश गर्दा उनीसँग इन्डिगो एयरलाइन्सको भारत जाने बोर्डिङ पास थियो । सुरक्षा क्षेत्र पार गरेपछि भने उनलाई फ्लाई दुबईको बोर्डिङ पास उपलब्ध गराइएको थियो । अध्यागमन स्रोतका अनुसार विमानस्थलको सिसिटिभी फुटेजमा सुमित्रा चन्दले सुरक्षा जाँच पार गरिसकेपछि ती यात्रुसँग रहेको भारत जाने बोर्डिङ पास फिर्ता लिएको दृश्यसमेत देखिएको छ ।
नेपालबाट तेस्रो मुलुक जान चाहने भारतीय नागरिकले अनिवार्य रूपमा ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । तर उक्त व्यवस्थालाई छल्न भारत जाने यात्रुको रूपमा देखाएर सुरक्षा तथा अध्यागमन प्रक्रिया पार गराउने र त्यसपछि वास्तविक गन्तव्यको बोर्डिङ पास उपलब्ध गराउने गरिएको आशंका गरिएको छ । यसरी अध्यागमन प्रणालीलाई नै छल्दै यात्रु विदेश पठाउने कार्य लामो समयदेखि सञ्चालन भइरहेको हुन सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ । अनुसन्धानसँग निकट स्रोतहरूका अनुसार पक्राउ परेका दुवै कर्मचारीबीच कार्यविभाजन नै गरिएको थियो । प्रबिन लामिछानेले बाहिर रहेका एजेन्ट तथा सम्पर्क सूत्रमार्फत यात्रु व्यवस्थापन गर्ने र सुमित्रा चन्दले विमानस्थलभित्रको प्रक्रिया मिलाउने भूमिका निर्वाह गर्ने गरेको आशंका छ । स्रोतका अनुसार उनीहरूले विभिन्न व्यक्तिलाई भारतको बोर्डिङ पास प्रयोग गराई अन्य मुलुक पठाउने र त्यसबापत ठूलो रकम असुल्ने गरेका थिए ।
विमानस्थल निकट स्रोतले पछिल्लो घटनामा मात्रै करिब १० लाख रुपैयाँसम्म रकम लेनदेन भएको दाबी गरेको छ । यद्यपि उक्त रकमबारे प्रहरी वा अध्यागमन विभागले आधिकारिक पुष्टि गरिसकेको छैन । स्रोतहरूका अनुसार यो एउटा घटनामात्र नभई लामो समयदेखि सञ्चालन हुँदै आएको सम्भावित संगठित धन्दाको अंश हुन सक्ने आशंका गरिएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार यस घटनामा मानव तस्करी, अध्यागमन छली, संगठित अपराध तथा अन्तर्राष्ट्रिय आपराधिक सञ्जालसँगको सम्भावित सम्बन्धका कोणबाट समेत अनुसन्धान भइरहेको छ । स्रोतहरूका अनुसार भारतमा खोजी सूचीमा रहेका एक व्यक्तिले नेपाल हुँदै तेस्रो मुलुक पुगेको विषयमा भारतीय पक्षले चासो देखाएपछि यो प्रकरण थप गम्भीर रूपमा अध्ययन हुन थालेको थियो । त्यसपछि अध्यागमन विभागले यात्रु अभिलेख, बोर्डिङ विवरण तथा सिसिटिभी फुटेजको अध्ययन गर्दा विमानस्थलभित्रैबाट संगठित रूपमा ‘काउन्टर सेटिङ’ भइरहेको संकेत फेला परेको बताइन्छ ।
नेपाल एयरलाइन्सभित्रकै केही कर्मचारीहरूका अनुसार सुमित्रा चन्दले प्रायः फ्लाई दुबई सम्बन्धी ड्युटी नै माग्ने गरेकी थिइन् । ड्युटी व्यवस्थापनमा समेत विशेष पहुँच रहेको आशंका गरिएको छ । यद्यपि यसबारे निगम व्यवस्थापनले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यसैबीच, पक्राउ परेका कर्मचारीहरूको जीवनशैली र आर्थिक गतिविधिबारे समेत अनुसन्धान सुरु भएको स्रोतले जनाएको छ । सामान्य तहका कर्मचारी हुँदाहुँदै पनि अस्वाभाविक आर्थिक हैसियत देखिएको भन्दै उनीहरूको आयस्रोतबारे समेत अनुसन्धान हुन सक्ने संकेत दिइएको छ ।
प्रहरी स्रोतका अनुसार अहिलेको अनुसन्धान केवल दुई कर्मचारीमा सीमित छैन । उनीहरूसँग सम्पर्कमा रहेका एजेन्ट, बिचौलिया, एयरपोर्टभित्रका अन्य कर्मचारी, सम्भावित संरक्षणकर्ता तथा विदेशसम्म फैलिएको नेटवर्कको खोजी भइरहेको छ । अनुसन्धान अधिकारीहरूका अनुसार पक्राउ परेका व्यक्तिहरूबाट प्राप्त हुने सूचनाका आधारमा विमानस्थलभित्र लामो समयदेखि सञ्चालन हुँदै आएको भनिएको ‘एयरपोर्ट सेटिङ’ को ठूलो सञ्जाल उजागर हुन सक्ने सम्भावना रहेको छ । यो घटनाले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली, अध्यागमन निगरानी, बोर्डिङ प्रक्रिया तथा मानव तस्करी नियन्त्रण संयन्त्रमाथि गम्भीर प्रश्न खडा गरेको छ । यदि प्रारम्भिक अनुसन्धानबाट उठेका आशंकाहरू पुष्टि भए, यो प्रकरण केवल दुई कर्मचारी पक्राउको घटनामा सीमित नरही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र वर्षौंदेखि सञ्चालन हुँदै आएको संगठित अवैध नेटवर्कको ठूलो पर्दाफासका रूपमा स्थापित हुन सक्ने देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार