मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

अन्तर्राष्ट्रिय युवा उद्यमी कतारमा विष्णु कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति, पूर्ण पोखरियाको संयोजकत्वमा संगठन विस्तार

शनिबार, जेष्ठ २३ २०८३

दोहा (कतार),नेपाली युवा उद्यमशीलतालाई विश्वव्यापी रूपमा सशक्त बनाउने उद्देश्यसहित अन्तर्राष्ट्रिय युवा उद्यमीको कतार शाखा गठन गरिएको छ। कतारमा क्रियाशील नेपाली व्यवसायी, समाजसेवी तथा युवा उद्यमीहरूको सहभागितामा सम्पन्न विशेष कार्यक्रममा समाजसेवी तथा व्यवसायी पूर्ण पोखरियाको संयोजकत्वमा शाखा गठन गरिएको हो।
अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघका अन्तर्राष्ट्रिय उपाध्यक्षसमेत रहेका पोखरियाको संयोजकत्वमा गठित कतार शाखाको अध्यक्षमा विष्णु कार्की चयन हुनुभएको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा निरन्जन गौतम र मञ्जु खनाल, महासचिवमा विकास भुजेल, सचिवमा सुजन गुरुङ, कोषाध्यक्षमा विशाल श्रेष्ठ तथा सह–कोषाध्यक्षमा बालकृष्ण न्यौपाने चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा यास्मिन सिंह ठकुरी, शुशिला तामाङ, युवराज गुरुङ, विकास सापकोटा, सुवास सापकोटा, संसार पोखरेल, सुबिन्द्र खत्री र दीपेश कार्की रहनुभएको छ।
शाखाले संगठनलाई थप प्रभावकारी, व्यवस्थित र उद्देश्यकेन्द्रित बनाउने लक्ष्यसहित सल्लाहकार समिति समेत गठन गरेको छ। समितिको प्रमुख सल्लाहकारमा कतारमा लामो समयदेखि व्यवसाय र सामाजिक सेवामा सक्रिय नरेन्द्र भाट चयन हुनुभएको छ भने विशेष सल्लाहकारमा क्रान्ति सिंह रहनुभएको छ। यस्तै सल्लाहकारहरूमा कृष्ण पन्थी, राकेश श्रेष्ठ तथा धिरज चाम्लिङ राई चयन हुनुभएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय उपाध्यक्ष पूर्ण पोखरियाले नेपालमा लगानी, उद्योग, व्यवसाय तथा उत्पादनमूलक क्षेत्रमा युवाको सहभागिता बढाउने दीर्घकालीन लक्ष्यका साथ विभिन्न मुलुकमा संगठनको शाखा विस्तार गरिएको बताउनुभयो। उहाँले विदेशमा आर्जित सीप, अनुभव र पूँजीलाई नेपालमा लगानीमैत्री वातावरण निर्माण गरी उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो।
पोखरियाले युवा उद्यमीहरूबीच आपसी सहकार्य, नेटवर्क विस्तार तथा व्यावसायिक अवसरहरूको आदानप्रदानमार्फत संगठनले नेपाल र विश्वभर रहेका नेपाली उद्यमीहरूलाई एउटै साझा मञ्चमा जोड्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम अन्तर्राष्ट्रिय युवा उद्यमीका अध्यक्ष गोकर्ण ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव दीपेन घलेलगायत अन्तर्राष्ट्रिय तथा विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। जुममार्फत सम्पन्न कार्यक्रमले संगठनको अन्तर्राष्ट्रिय विस्तार अभियानलाई थप गति दिने सहभागीहरूले विश्वास व्यक्त गरेका छन्।
नवगठित कतार शाखाले आगामी दिनमा कतारमा रहेका नेपाली युवा व्यवसायी तथा उद्यमीहरूलाई संगठित गर्दै उद्यमशीलता विकास, लगानी प्रवर्द्धन तथा नेपालसँगको आर्थिक सम्बन्ध विस्तारमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ फिने आईईसी (अन्तर्राष्ट्रिय कार्य समिति) ले अस्ट्रेलियामा आयोजना गर्न लागेको सम्मेलन आगामी २४ र २५ जुलाईमा सिड्नीस्थित सोफिटेल होटलमा हुने भएको छ। सम्मेलनको सञ्चालन फिने अस्ट्रेलियाले गर्नेछ।
सम्मेलनमा नेपाल र अस्ट्रेलियाका सरकारी, वित्तीय तथा निजी क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार