शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

लोकतान्त्रिक व्यवसायीको नेतृत्वमा मेघनाथ भुर्तेल, ‘सशक्त संघ र सुरक्षित व्यवसाय’ को नारासहित चुनावी दौडमा

शनिबार, जेष्ठ २३ २०८३

काठमाडौं,वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा अध्यक्ष पदका बलिया दाबेदारमध्ये एक पूर्व महासचिव मेघनाथ भुर्तेलले चुनावी अभियानलाई तीव्र बनाएका छन्। लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका भुर्तेलले व्यवसायीको अधिकार, सम्मान र संस्थागत सुदृढीकरणलाई केन्द्रमा राखेर आफ्ना एजेण्डा सार्वजनिक गरेका छन्।
लामो समयदेखि वैदेशिक रोजगार क्षेत्रमा सक्रिय भुर्तेल संघको महासचिवका रूपमा काम गरिसकेका अनुभवी व्यवसायी हुन्। उनले ‘सशक्त संघ, सुरक्षित व्यवसाय, समृद्ध वैदेशिक रोजगार क्षेत्र’ भन्ने मूल नारासहित उम्मेदवारी घोषणा गरेका छन्।
फोरमले पूर्वमहासचिव मेघनाथ भुर्तेलको नेतृत्वमा आफ्नो टिम सार्वजनिक गरेको छ ।
फोरमले अध्यक्षमा भूर्तेल,प्रथम उपाध्यक्षमा कर्णराज कटुवाल, द्धितिय उपाध्यक्षमा रविन मेगाले मगर, तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल, महासचिवमा अमर तिवारी, सचिवमा रामकाजी भ्लोन, कोषाध्यक्षमा विद्यारत्न बज्राचार्यलाई चुनावी मैदानमा अघि सारेको छ ।
यस्तै सदस्यहरुमा राजेश मैनाली, कैलाश पाठक, देउ बहादुर गौतम (सविन), टंक प्रसाद पंगेनी, गिता राउत, भिम माया कार्की, दिक्षा थपलिया, रोशना निरौला, दिपक मार देव र हिरालाल गौडेललाई अघि सारेको छ ।
उम्मेदवारी घोषणासभामा बोल्दै अध्यक्षका उम्मेदवार भूर्तेलले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, व्यवसायमैत्री तथा श्रमिकमैत्री बनाउने उद्देश्यसहित १० बुँदे एजेण्डा सार्वजनिक गरेका छन ।
उनले वैदेशिक रोजगार ऐन, नियमावली र निर्देशिकाको समयानुकूल संशोधन, श्रमिक र व्यवसायी दुवैको हित संरक्षण हुने स्पष्ट नीतिगत व्यवस्था तथा लागत खर्चको वैज्ञानिक निर्धारणमा जोड दिएका छन । यस्तै फ्रि भिसा–फ्रि टिकट नीतिको यथार्थपरक पुनरावलोकनमा उनले जोड दिएका छन ।
भूर्तेलले सरकार, व्यवसायी र श्रमिक प्रतिनिधिबीच नियमित संवाद संयन्त्र स्थापना गरी साझा समस्याको साझा समाधान खोज्ने तथा त्रिपक्षीय सहकार्यलाई संस्थागत गर्ने प्रतिवद्धता जनाएका छन ।
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले अनुभव, व्यवसायिक दक्षता र क्षेत्र सुधारको स्पष्ट कार्ययोजनाका आधारमा आफ्नो टिम चुनावी मैदानमा उतारेको जनाएको छ ।
फोरमका अनुसार वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान गर्दै व्यवसायीको सम्मान, श्रमिकको सुरक्षा र राष्ट्रको समृद्धिलाई केन्द्रमा राखेर आगामी कार्यकालमा प्रभावकारी नेतृत्व प्रदान गर्ने लक्ष्यका साथ उक्त प्यानल सार्वजनिक गरिएको हो ।
भुर्तेलका अनुसार वैदेशिक रोजगार क्षेत्र आज नीतिगत अन्योल, प्रशासनिक जटिलता, बढ्दो नियन्त्रणमुखी सोच तथा व्यवसायीमाथि थोपरिने एकतर्फी दोषारोपणका कारण समस्याग्रस्त बनेको छ। यस्ता चुनौती समाधान गर्न संघको नेतृत्व बलियो, स्पष्ट र व्यवसायीप्रति उत्तरदायी हुनुपर्ने उनको धारणा छ।
उनले मागपत्र प्रमाणीकरण प्रक्रिया सहज बनाउन, श्रम स्वीकृति प्रणालीलाई थप प्रभावकारी बनाउन, नयाँ श्रम गन्तव्य विस्तार गर्न तथा सरकार र व्यवसायीबीचको दूरी कम गर्न आफूले पहल गर्ने बताएका छन्।
भुर्तेलले वैदेशिक रोजगार क्षेत्रलाई केवल नियमनको विषयका रूपमा नभई देशको अर्थतन्त्र धान्ने प्रमुख क्षेत्रका रूपमा हेरिनुपर्ने बताएका छन्। देशमा आउने रेमिट्यान्स, रोजगारी सिर्जना तथा लाखौं परिवारको आर्थिक जीवनस्तर सुधारमा वैदेशिक रोजगार क्षेत्रको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ।
उनले केही व्यक्तिको गल्तीका कारण सम्पूर्ण व्यवसायी समुदायलाई दोषी देखाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्। कानुनी रूपमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई सम्मानजनक वातावरण उपलब्ध गराउन संघले सशक्त भूमिका खेल्नुपर्ने उनको धारणा छ।
निर्वाचनमा लोकतान्त्रिक एसोसिएसनको संगठनात्मक आधार बलियो रहेको दाबी गर्दै भुर्तेल पक्षले आफूहरूले व्यवसायीको व्यापक समर्थन प्राप्त गरिरहेको जनाएको छ।
यद्यपि व्यवसायी वृत्तमा निवर्तमान अध्यक्ष भुवन सिंह गुरुङको समर्थन कसलाई रहन्छ भन्ने विषय पनि चर्चाको केन्द्रमा छ। गुरुङले लोकतान्त्रिक एसोसिएसनकै उम्मेदवार भएका कारण भुर्तेललाई समर्थन गरेमा चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने व्यवसायीहरू बताउँछन्। विगतमा गुरुङ र भुर्तेलबीच मतभेद देखिए पनि अन्तिम समयमा बन्ने समीकरणले निर्वाचन परिणाममा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।
भुर्तेलले संघलाई व्यवसायीहरूको साझा, बलियो र प्रभावकारी संस्थाका रूपमा विकास गर्दै वैदेशिक रोजगार क्षेत्रको दीर्घकालीन सुधारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार