काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भारतसँगको सीमा विवादका सम्बन्धमा प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्तिको बचाउ गर्दै स्पष्टीकरण दिएका छन् ।
मंगलबारको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले सीमा विवादको समाधान कूटनीतिक वार्ता र पुराना स्थापित संयन्त्रहरूमार्फत नै हुने स्पष्ट पारेका हुन् ।
प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै पोखरेलले प्रधानमन्त्रीको आशयलाई गलत व्याख्या नगर्न आग्रह गरे ।
प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको नभई, सीमा सम्बन्धी काम अघि बढाउँदा अर्को पक्षबाट त्यस्तो दाबी आउँदा आफू अचम्ममा परेको कुरा मात्र सदनमा राखेको उनले दाबी गरे ।
“प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिच्यो भन्नुभएको होइन,” प्रवक्ता पोखरेलले भने, “यस्तो अनपेक्षित कुरा सुन्दा आफू आश्चर्यचकित भएको सन्दर्भ मात्र उहाँले जोड्नुभएको हो ।”
यस विषयमा परराष्ट्र मन्त्रालयले पनि आफ्नो धारणा सार्वजनिक गरिसकेको स्मरण गराउँदै मन्त्री पोखरेलले दुई देशबीचको सीमा समस्या सुल्झाउन पहिलेदेखि नै विभिन्न प्राविधिक तथा कूटनीतिक संयन्त्रहरू क्रियाशील रहेको बताए ।
कतिपय स्थानमा भारतले उपभोग गरिरहेको जग्गा नेपालको नक्सामा पर्न सक्ने र नेपालले उपभोग गरेको जग्गा भारतीय क्षेत्रमा पर्न सक्ने सम्भावना तिनै संयन्त्रको अध्ययनबाट आएको उनले उल्लेख गरे ।
सीमा विवाद समाधानका लागि नेपाल र भारत दुवैले एकअर्कालाई ‘डिप्लोमेटिक नोट’ (कूटनीतिक पत्र) पठाइसकेको जानकारी दिँदै उनले अब दुवै देश ‘टेबल टक’ मार्फत निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे । उनले परराष्ट्र मन्त्रालयले यस दिशामा आवश्यक कूटनीतिक पहलहरू अगाडि बढाइसकेको समेत जानकारी दिए ।
विपक्षीले प्रधानमन्त्रीले पुनः सदनमा आएर जवाफ दिनुपर्ने माग गरिरहेको सन्दर्भमा प्रवक्ता पोखरेलले प्रधानमन्त्री संसदप्रति पूर्ण रूपमा उत्तरदायी रहेको बताए । उनले यसअघि पनि प्रधानमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिइसकेको र आवश्यकता परेमा फेरि पनि सदनमा उपस्थित भएर प्रस्ट पार्न सरकार तयार रहेको बताए । तर विपक्षीले बालेनले यसबारेमा प्रस्ट पार्नुपर्ने भन्दै मंगलबार समेत सदन अवरुद्ध बनाए ।