काठमाडौँ । पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ दिल्लीमा भेटवार्तामा व्यस्त बनेका छन् ।
सोमबार दिल्ली पुगेका लामिछानेले मंगलबार भारतीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री डा. एस. जयशंकर र भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
भ्रमणका क्रममा लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेको छ। भेटमा नेपाल र भारतबीचको आपसी सम्बन्ध, सहकार्य तथा दुई देशको हितका विविध पक्षमा छलफल भएको छ।
यसअघि, मंगलबार नै लामिछानेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग पनि भेटवार्ता गरेका थिए। भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै विदेशमन्त्री जयशंकरले नेपाल-भारत विकास साझेदारी र जनस्तरको सम्बन्धबारे सार्थक छलफल भएको बताएका छन्।
उनले दुई देशका नागरिकबीचको सम्बन्धले आर्थिक वृद्धि र समृद्धि प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
सभापति लामिछाने मंगलबार मध्याह्न भारतीय जनता पार्टी (भाजपा)को मुख्यालय पुग्दा उनलाई भव्य स्वागत गरिएको थियो। भाजपा अध्यक्ष नितिन नवीनले उनलाई रेड कार्पेटमा परम्परागत झाँकी र फूलमालासहित स्वागत गरे।
सो अवसरमा दिल्लीका विभिन्न स्थानमा लामिछानेको तस्बिरसहितका ब्यानरहरू राखिएका थिए, जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्षको समेत तस्बिर अंकित थियो।
भेटका क्रममा रवि लामिछानेले भाजपा अध्यक्ष नितिन नवीनलाई पशुपतिनाथ मन्दिरको तस्बिर उपहार दिएका थिए भने रुद्राक्षको माला लगाइदिएका थिए।
भाजपाको ‘नो बीजेपी’ कार्यक्रमअन्तर्गत भएको उक्त भेटमा पार्टी-टु-पार्टी सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेका अनुसार, छलफलमा भाजपाको राष्ट्रिय तहदेखि बुथ तहसम्मको संगठनात्मक संरचना, सदस्यता विस्तार प्रक्रिया, उम्मेदवार छनोट प्रणाली र तल्लो तहसम्म पार्टीको पहुँचबारे अनुभव आदानप्रदान गरिएको थियो।
प्रतिनिधिमण्डलले भाजपाको मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गर्दै पार्टीको सञ्चार प्रणाली र सूचना व्यवस्थापनबारे जानकारी लिएको थियो।
भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा दिल्ली पुगेका लामिछानेलाई सोमबार विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए।
लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।
पाँच दिने भ्रमणका क्रममा लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। यस्तै उनले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ता गर्ने बताइएको छ । साथै उनले अयोध्याको भ्रमण समेत गर्ने कार्यतालिका रहेको छ।