शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

नयाँसडक दैनिकका सम्पादक पौडेल धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कारबाट सम्मानित

शनिबार, जेष्ठ १६ २०८३

ललितपुर,नयाँसडक दैनिकका पत्रकार ज्ञानप्रसाद पौडेल धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाको २५औँ वार्षिक साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा पौडेललाई उक्त पुरस्कार प्रदान गरिएको हो। लामो समयदेखि पत्रकारितामार्फत समाज परिवर्तन, जनसरोकारका विषयको उठान तथा नागरिक चेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको महासंघले जनाएको छ।
पत्रकारिता पेशामा निरन्तर सक्रिय रहँदै समाजका विविध आयामलाई उजागर गर्न तथा जनताका आवाजलाई सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा प्रस्तुत गर्न खेलेको भूमिकाको मूल्याङ्कन गर्दै पौडेललाई धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा राजधानी दैनिकका डिल्ली आचार्य र रातोपाटीका नरेश ज्ञवालीलाई हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार, नेपालखबरका जनार्दन पोखरेललाई राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार तथा दियोपोष्टकी रीता बुढाथोकीलाई सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो।
त्यसैगरी, नेपाल टेलिभिजनका ईश्वर महर्जन र मिडियासञ्चारडटकमका केदारनाथ दाहाललाई ललितपुर पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो। उनीहरूलाई ललितपुरका विषयवस्तु उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरिएको हो।
पूर्व प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकारिताको व्यावसायिक विकास, प्रेस स्वतन्त्रता तथा संस्थागत सुदृढीकरणका विषयमा समेत चर्चा गरिएको थियो।
साधारण सभाको बन्द सत्रमा शाखाका सचिव दीपक अर्यालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कृष्ण पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको महासंघले जनाएको छ। पौडेल शाखा ललितपुरका पूर्व अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार