काठमाडौं(जस)–वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–११ स्थित डब्लूडब्लूआइसिएस इमिग्रेसन सर्भिस नेपाल प्रालिका संचालक काठमाडौं महानगरपालिका–२६ बस्ने भारत पंजाव मोहाली घर भएका २६ वर्षीय अमित कुमार र काठमाडौं महानगरपालिका–३ बस्ने भारत हरियाणा फरिदावाद घर भएका ३९ वर्षीय राहुल कुमार, काठमाडौं तारकेश्वर नगरपालिका बस्ने चितवन कालिका नगरपालिका–६ घर भएकी २७ वर्षीया मुस्कान घिमिरे, ललितपुर, ललितपुर महानगरपालिका–२३ बस्ने मकवानपुर बकैया गाउँपालिका–९ घर भएका ३९ वर्षीय जनक बहादुर वाईबा, ललितपुर महालक्ष्मी नगरपालिका–१ बस्ने सुनसरी रामधुनी नगरपालिका–५ घर भएका २७ वर्षीय मिलन घिमिरे, काठमाडौं महानगरपालिका–१५ बस्ने मोरङ बेलबारी नगरपालिका–३ घर भएका २७ वर्षीय कमल थापा र काठमाडौं महानगरपालिका–७ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ घर भएकी ४० वर्षीया नितु घिमिरे रहेका छन् ।
पक्राउ मध्ये अमित र राहुलले क्यानडा पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १ करोड ५७ लाख ६५ हजार ४ सय रूपैयाँ, मुस्कानले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, जनकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ, मिलनले क्रोएशिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ३५ हजार रूपैयाँ, कमलले बेलायत, रोमानिया लगायतका देशहरू फटाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २७ लाख ५० हजार रूपैयाँ र नितुले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमित र राहुललाई काठमाडौं महानगरपालिका–११ बाट शनिबार, मुस्कानलाई टोखा नगरपालिका–३ बाट, जनकलाई ललितपुर महानगरपालिका–२३ बाट र मिलनलाई ललितपुर महालक्ष्मी नगरपालिका–४ बाट आइतबार तथा कमललाई काठमाडौं नागार्जुन नगरपालिका–१ बाट र नितुलाई काठमाडौं महानगरपालिका–७ बाट सोमबार पक्राउ गरेको हो । पक्राउ मध्ये अमित र राहुललाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने मुस्कान, जनक, मिलन, कमल र नितुलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।