काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठलाई पार्टीको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभागको सदस्य पदमा मनोनीत गरेको छ। पार्टीका महामन्त्री भूपदेव शाहद्वारा जारी पत्रमार्फत श्रेष्ठलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।
वैदेशिक रोजगार क्षेत्रसँग लामो समयदेखि सक्रिय रूपमा जोडिएका श्रेष्ठ व्यवसायीका हकहित, श्रमिक सुरक्षासहित नीतिगत सुधारका विषयमा स्पष्ट र निर्भीक धारणा राख्ने व्यक्तित्वका रूपमा परिचित छन्। विशेषगरी मेनपावर व्यवसायले पछिल्लो समय भोगिरहेका समस्या, श्रम बजारमा देखिएका चुनौती, सरकारी नीतिगत जटिलता तथा वैदेशिक रोजगार क्षेत्र सुधारका विषयमा उनले निरन्तर आवाज उठाउँदै आएका छन्।
अहिले वैदेशिक रोजगार क्षेत्र विभिन्न दबाब र अन्योलबीच गुज्रिरहेका बेला श्रेष्ठको मनोनयनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। श्रमिक, व्यवसायी र सरकारबीच समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने व्यक्तिका रूपमा चिनिएका श्रेष्ठले अब पार्टीलाई वैदेशिक रोजगार क्षेत्रको वास्तविक अवस्था, व्यवसायीले भोगिरहेका समस्या तथा सुधार गर्नुपर्ने पक्षबारे व्यवहारिक जानकारी गराउने अपेक्षा गरिएको छ।
वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउने विषयमा निरन्तर सक्रिय रहेका श्रेष्ठको राजनीतिक जिम्मेवारीले अब श्रम तथा वैदेशिक रोजगारसम्बन्धी नीतिगत बहस थप प्रभावकारी बन्ने विश्वास व्यवसायीहरूले गरेका छन्।

