काठमाडौं(जस)–वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ बस्ने धादिङ घर भएका ३७ वर्षीय शरण थापा, काठमाडौं महानगरपालिका–३२ बस्ने मोरङ घर भएका ३७ वर्षीय विष्णु सिलवाल, झापा बिर्तामोड नगरपालिका–१० बस्ने ४५ वर्षीय उत्तम गुरूङ, काठमाडौं महानगरपालिका–३२ बस्ने २९ वर्षीया प्रियंका कुमारी चौधरी, काठमाडौं महानगरपालिका–३२ बस्ने सुनसरी घर भएका ३१ वर्षीय अर्जुन कुमार चौधरी रहेका छन् ।
पक्राउ मध्ये शरणले सिङ्गापुर पठाइदिन्छु भन्दै ४३ जना पीडितहरूबाट ५ करोड १ लाख १२ हजार रूपैयाँ, विष्णुले मकाउ पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ११ लाख रूपैयाँ, उत्तमले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४२ लाख रूपैयाँ, प्रियंकाले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ र अर्जुनले पोर्चुगल पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शरणलाई काठमाडौं महानगरपालिका–१० बाट, विष्णुलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बाट, उत्तमलाई काठमाडौं महानगरपालिका–६ बाट, प्रियंकालाई काठमाडौं महानगरपालिका–११ बाट र अर्जुनलाई काठमाडौं महानगरपालिका–१० बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।