शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एफएनसीसीआईमा अन्जन श्रेष्ठको दबदबा, ढकाल समूहको साख धराशायी,वरिष्ठ उपाध्यक्षदेखि कोषाध्यक्षसम्म अध्यक्ष श्रेष्ठ प्यानलको क्लिन स्वीप, महासंघको शक्ति समीकरणमा ठूलो उलटफेर

शुक्रबार, जेष्ठ ८ २०८३

काठमाडौं,नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को शुक्रबार सम्पन्न निर्वाचनले महासंघभित्रको शक्ति समीकरण पूर्ण रूपमा बदलिएको संकेत दिएको छ । अध्यक्ष अन्जन श्रेष्ठले बनाएको रणनीतिक टिमले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष दुवै पदमा प्रभावशाली जित निकाल्दै महासंघमा आफ्नो बलियो नियन्त्रण स्थापित गरेको छ भने निवर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकाल समूह भने नराम्ररी कमजोर बनेको देखिएको छ ।
महासंघको भावी अध्यक्ष मानिने वरिष्ठ उपाध्यक्ष पदमा अध्यक्ष श्रेष्ठ समर्थित सुरकृष्ण वैद्य विजयी भए । वैद्यले ५६ मत प्राप्त गर्दा प्रतिस्पर्धी रामचन्द्र सांघाई ३० मतमै सीमित भए । चुनावअघि नै महासंघभित्र ‘निर्णायक भिडन्त’का रूपमा हेरिएको यो प्रतिस्पर्धामा वैद्यले सहज अन्तरले जित निकाल्नु अन्जन श्रेष्ठ समूहको संगठित शक्ति प्रदर्शनका रूपमा हेरिएको छ ।
त्यस्तै कोषाध्यक्ष पदमा पनि अध्यक्ष श्रेष्ठ प्यानलले एकतर्फी जित निकाल्यो । मनिषलाल प्रधानले ६१ मत प्राप्त गर्दै विजयी हुँदा प्रतिस्पर्धी अम्बिका प्रसाद पौडेलले केवल २५ मत प्राप्त गरे । मत परिणामले महासंघभित्र अहिले कसको प्रभाव बलियो छ भन्ने स्पष्ट चित्र देखाएको टिप्पणी व्यवसायी वृत्तमा सुरु भएको छ ।
निर्वाचन परिणामसँगै महासंघभित्र सबैभन्दा बढी चर्चा भने निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल समूहको कमजोर उपस्थितिको भइरहेको छ । केही वर्षअघिसम्म महासंघमा निर्णायक प्रभाव राख्ने ढकाल समूह यसपटक भने आफ्ना समर्थित उम्मेदवारलाई जिताउन पूर्ण रूपमा असफल देखियो । महासंघका धेरै प्रतिनिधिले खुला रूपमा अन्जन श्रेष्ठ नेतृत्वलाई साथ दिएपछि ढकाल समूहको पकड खुकुलो बन्दै गएको विश्लेषण गरिएको छ ।
महासंघभित्रको आन्तरिक राजनीतिमा प्रभावशाली मानिने समूहहरूको समर्थनसमेत यसपटक अध्यक्ष श्रेष्ठतर्फ ढल्किएको देखिएको छ । चुनावअघि विभिन्न तहमा भएको समन्वय, रणनीतिक टिम व्यवस्थापन र मतदातासँगको निरन्तर संवादले श्रेष्ठ समूहलाई निर्णायक लाभ पुगेको महासंघ स्रोतको दाबी छ ।
विशेषगरी वरिष्ठ उपाध्यक्ष पदको नतिजालाई आगामी महासंघ नेतृत्वको दिशासँग जोडेर हेरिएको छ । महासंघको परम्पराअनुसार वरिष्ठ उपाध्यक्ष नै भावी अध्यक्ष बन्ने अभ्यास रहेकाले सुरकृष्ण वैद्यको जितले अब आगामी नेतृत्वको मार्ग लगभग तय भएको सन्देशसमेत दिएको छ ।
उता, लगातार चुनावी हारपछि ढकाल समूहभित्र नै अब रणनीति र नेतृत्व शैलीबारे समीक्षा सुरु हुने संकेत देखिएको छ । महासंघमा लामो समय प्रभाव कायम राखेको समूह यसपटक मतदातालाई आफ्नो पक्षमा तान्न असफल भएपछि त्यसलाई ‘प्रभाव क्षयीकरण’को संकेतका रूपमा हेरिएको छ ।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै महासंघभित्र अब अन्जन श्रेष्ठ समूहको निर्णायक कमाण्ड स्थापित भएको चर्चा व्यवसायिक क्षेत्रभर फैलिएको छ । निजी क्षेत्रका एजेन्डा, सरकारसँगको सम्बन्ध, लगानी वातावरण र महासंघको आगामी नीतिगत दिशामा अब यही समूहको प्रभाव अझ बलियो हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार