काठमाडौं,नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा उपाध्यक्ष पदमा पराजित भएका शिवप्रसाद घिमिरेसहित ६ जना केन्द्रीय सदस्य मनोनीत गरिएका छन् । महासंघको नयाँ नेतृत्व चयनको राजनीतिक र व्यावसायिक समीकरणबीच गरिएको यो मनोनयनलाई ‘सन्तुलन मिलाउने प्रयास’का रूपमा समेत हेरिएको छ ।
शुक्रबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जिल्ला/नगर, वस्तुगत तथा एसोसिएट्स समूहबाट प्रतिनिधित्व हुने गरी ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । मनोनयन सूचीमा जिल्ला/नगरतर्फ मनिषलाल प्रधान, नवीन रिजाल र गोकर्ण कार्की परेका छन् भने वस्तुगततर्फ कत्था उत्पादक संघका शिवप्रसाद घिमिरे र महिला उद्यमी महासंघकी दर्शना श्रेष्ठ मनोनीत भएका छन् । एसोसिएट्स समूहबाट साहारा जोशीलाई केन्द्रीय सदस्य बनाइएको छ ।
विशेष चासोको विषय भने वस्तुगत समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिएका शिवप्रसाद घिमिरेको मनोनयन बनेको छ । चुनावमा नरेशलाल श्रेष्ठसँग अत्यन्तै प्रतिस्पर्धात्मक भिडन्त गरेका घिमिरे केवल तीन मतले पराजित भएका थिए । चुनावी परिणामपछि पनि महासंघभित्र उनको प्रभाव र सक्रियतालाई ध्यानमा राख्दै नेतृत्वले उनलाई केन्द्रीय समितिमा समेटेको विश्लेषण गरिएको छ ।
महासंघको विधानअनुसार अध्यक्षले दुई महिलासहित सात जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ । सोही अधिकार प्रयोग गर्दै हाल ६ जना मनोनीत गरिएको हो भने अझै एक स्थान खाली रहेको बताइएको छ । बाँकी एक सदस्य कसलाई बनाइन्छ भन्ने विषय अहिले महासंघभित्र चासोका साथ हेरिएको छ ।
यसैबीच, महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएपछि
सुरकृष्ण वैद्य र रामचन्द्र सांघाईबीच कडा प्रतिस्पर्धा देखिएको छ । आगामी नेतृत्वको ‘भावी अध्यक्ष’ मानिने यो पदका कारण चुनावलाई महासंघको शक्ति परीक्षणका रूपमा समेत हेरिएको छ ।
त्यस्तै कोषाध्यक्ष पदमा अम्बिका प्रसाद पौडेल र मनिष लाल प्रधानको उम्मेदवारी परेको छ । महासंघभित्र सहमतिका आधारमा पद बाँडफाँट र शक्ति सन्तुलन मिलाउने प्रयास अन्तिम समयसम्म चलेको चर्चा पनि व्यवसायिक वृत्तमा छ ।