काठमाडौं ,नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचन नजिकिँदै जाँदा निजी क्षेत्रभित्र चुनावी सरगर्मी बढेको छ । यसैबीच महासंघको कोषाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका अम्बिका प्रसाद पौडेल अहिले व्यवसायी समुदायमा चर्चाको केन्द्र बनेका छन् । लामो समयदेखि निजी क्षेत्रका मुद्दा, कर प्रणाली, पूँजी बजार तथा व्यवसायी हकहितका सवालमा सक्रिय रहँदै आएका पौडेलले आफ्नो उम्मेदवारीलाई “व्यक्तिगत महत्वाकांक्षा नभई संस्थागत सुधार र व्यवसायी एकताको अभियान” का रूपमा प्रस्तुत गरेका छन् ।
आउँदो जेठ ८ गते हुने निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक अपिलमार्फत ढकालले महासंघलाई अझ पारदर्शी, उत्तरदायी, प्रभावकारी र सम्पूर्ण व्यवसायीको अपनत्व भएको संस्था बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् । उनले महासंघलाई सीमित व्यक्तिको प्रभावमा रहने संरचनाबाट बाहिर निकालेर सबै व्यवसायीको साझा संस्थाका रूपमा अझ सशक्त बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन ।
महासंघको कार्यकारी सदस्यका रूपमा यो उनको तेस्रो कार्यकाल हो । विगतका निर्वाचनहरूमा व्यवसायी समुदायबाट उल्लेखनीय मत प्राप्त गर्दै आएका पौडेलले आफूले पाएको विश्वासलाई जिम्मेवारीका रूपमा लिएको बताएका छन् । निजी क्षेत्रका मुद्दामा निरन्तर सक्रिय भूमिका खेलेका कारण उनी महासंघभित्र अध्ययनशील, स्पष्ट धारणा राख्ने र संवादमार्फत समाधान खोज्ने नेताका रूपमा परिचित छन् ।
पौडेलले यसअघि महासङ्घअन्तर्गत पूँजी बजार फोरम तथा कर तथा राजस्व समितिको सभापतिको जिम्मेवारी निर्वाह गरिसकेका छन् । ती जिम्मेवारीमा रहँदा उनले कर, भन्सार, अन्तःशुल्क तथा राजस्वसँग सम्बन्धित कानुनी र व्यवहारिक जटिलताका विषयलाई सरकारसमक्ष प्रभावकारी रूपमा उठान गरेका थिए । व्यवसायीले भोग्दै आएका नीतिगत समस्या, कर प्रशासनको असहजता तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा उनले निरन्तर आवाज उठाउँदै आएका छन् ।
विशेषगरी पछिल्लो समय निजी क्षेत्रले भोगिरहेको आर्थिक मन्दी, लगानीमा आएको संकुचन, बैंक ब्याजदर, करको दबाब तथा उद्योग व्यवसायमा देखिएको निराशाबीच महासङ्घको नेतृत्व अझ जिम्मेवार र परिणाममुखी हुनुपर्ने आवश्यकता व्यवसायीहरूले महसुस गरिरहेका छन् । यही सन्दर्भमा पौडेलको उम्मेदवारीलाई अनुभवी र व्यावहारिक नेतृत्वको रूपमा हेरिएको छ ।
पौडेलले बलियो अर्थतन्त्र निर्माणका लागि बलियो निजी क्षेत्र अपरिहार्य हुने उल्लेख गर्दै निजी क्षेत्रको आत्मविश्वास बढाउने वातावरण सिर्जना गर्न महासंघले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका छन् । उनका अनुसार महासङ्घ केवल औपचारिक संस्था नभई सरकार र निजी क्षेत्रबीच पुलको रूपमा काम गर्ने राष्ट्रिय संस्था हो, जसले उद्योगी–व्यवसायीको आवाजलाई नीति निर्माण तहसम्म पुर्याउनुपर्छ ।
उनले साना, मझौला तथा ठूला सबै खाले व्यवसायीलाई समान सम्मान र अवसर दिने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । “हरेक व्यवसायीले महासङ्घलाई आफ्नो संस्था हो भन्ने अनुभूति गर्न सक्नुपर्छ,” पौडेलको भनाइ छ, “संस्था सबैको साझा थलो बन्नुपर्छ, जहाँ व्यवसायीका समस्या, सुझाव र अपेक्षाले समान महत्व पाओस् ।”
ढकालले महासंघभित्र संस्थागत सुशासन, वित्तीय पारदर्शिता र उत्तरदायित्वलाई थप मजबुत बनाउने एजेन्डालाई आफ्नो प्राथमिकतामा राखेका छन् । कोषाध्यक्ष पदमा रहेर संस्थाको आर्थिक व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउने उनको योजना रहेको निकटस्थहरू बताउँछन् ।
व्यवसायी समुदायमा पौडेलको छवि मिलनसार, समन्वयकारी र परिणाममुखी नेताका रूपमा स्थापित रहेको बताइन्छ । निजी क्षेत्रका जटिल विषयमा अध्ययन गरेर धारणा राख्ने, सरकारी निकायसँग संवादमार्फत समाधान खोज्ने र व्यवसायीको पक्षमा निरन्तर वकालत गर्ने नेताका रूपमा उनले अलग पहिचान बनाएका छन् ।
उनले आफ्नो उम्मेदवारी महासङ्घको गरिमा र विश्वसनीयता अझ उचाइमा पुर्याउने साझा अभियान भएको उल्लेख गर्दै सम्पूर्ण व्यवसायी समुदायसँग साथ, सुझाव र समर्थनको अपेक्षा गरेका छन् । विगतमा पाएको विश्वासलाई अझ ठूलो जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै उनले आगामी दिनमा अझ बढी समर्पण, इमानदारी र सक्रियताका साथ व्यवसायी हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महासंघको आगामी निर्वाचनलाई निजी क्षेत्रको भावी दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । यस्तो अवस्थामा अम्बिका प्रसाद पौडेलको उम्मेदवारीले महासंघभित्र संस्थागत सुधार, पारदर्शिता र व्यवसायीमैत्री नेतृत्वको बहसलाई थप बलियो बनाएको व्यवसायी वृत्तको बुझाइ छ ।