आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मध्यपूर्व संकट : नेपाली श्रमिक सुरक्षामा सरकार–दूतावास–एनआरएनएबीच आपतकालीन संयन्त्र बनाउन जोड

बुधबार, जेष्ठ ६ २०८३

काठमाडौं । मध्यपूर्वमा बढ्दो अस्थिरता र संकटका बीच त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, उद्धार तथा संकट व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल सरकार, नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (NRNA) बीच समन्वय सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। यही विषयमा सरकारी तथा गैरसरकारी ४० भन्दा बढी निकायका प्रतिनिधिहरू सहभागी भएको समन्वयात्मक छलफल सम्पन्न भएको हो।

NRNA र ILO को संयुक्त परियोजना “MiRiDeW Phase II” अन्तर्गत आयोजित बैठकमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, उद्धार, राहत तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा गम्भीर छलफल भएको थियो। सहभागीहरूले सरकार, दूतावास र NRNA बीचको समन्वय संयन्त्रलाई थप प्रभावकारी र द्रुत बनाउँदै आपतकालीन उद्धार योजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका छन्।

बैठकमा नेपाली श्रमिकहरूको तथ्यांक नियमित रूपमा अद्यावधिक गरी विश्वसनीय र केन्द्रीकृत प्रणाली विकास गर्नुपर्ने, मानसिक तनावमा रहेका श्रमिकहरूका लागि मनोसामाजिक परामर्श सेवा विस्तार गर्नुपर्ने तथा प्रस्थानपूर्व अभिमुखीकरण तालिममै संकट व्यवस्थापन र जोखिम सचेतनालाई अनिवार्य समावेश गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको थियो।

यस्तै वैदेशिक रोजगारीको नाममा हुने ठगी रोक्न व्यापक जनचेतना अभियान सञ्चालन गर्नुपर्ने, डिजिटल सहायता प्रणालीलाई थप पहुँचयोग्य र व्यवस्थित बनाउनुका साथै गन्तव्य मुलुकहरूसँग श्रमसम्बन्धी द्विपक्षीय सम्झौतालाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ। फर्किएका श्रमिकहरूको सीप विकास, वैकल्पिक रोजगारी तथा पुनःएकीकरण कार्यक्रम प्रभावकारी बनाउनुपर्ने र द्रुत प्रतिक्रिया संयन्त्र (Rapid Response Mechanism) निर्माण गरी तत्काल सञ्चालन गर्नुपर्ने सुझावसमेत बैठकमा उठाइएको थियो।

बैदेशिक रोजगार विभागका प्रमुख तथा उपाध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकमा परराष्ट्र मन्त्रालय पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काले मध्यपूर्व संकटका सन्दर्भमा सरकारले गरिरहेका तयारी र प्रयासबारे जानकारी गराएका थिए। कतार, यूएई, साउदी अरब, कुवेत, ओमान र बहराइनस्थित NRNA NCC प्रतिनिधिहरूले पनि आ–आफ्नो अनुभव र सुझाव राखेका थिए।

बैठकमा बोल्दै अध्यक्ष डा. शर्माले सरकार, दूतावास र सरोकारवालाबीच उच्चस्तरीय सहकार्य अपरिहार्य रहेको बताउँदै कोभिड महामारीका बेला NRNA ले सञ्चालन गरेको RRR (Relief, Repatriation & Rehabilitation) कार्यक्रममार्फत मध्यपूर्वलगायत विभिन्न मुलुकबाट नेपालीहरूको उद्धार, राहत र पुनःस्थापनामा खेलेको भूमिकाको स्मरण गराए। उनले परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, कल्याणकारी कोष तथा NRNA बीच तत्काल आपतकालीन संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए।

उनले संकटको अवस्थामा उद्धार, सुरक्षित स्थानान्तरण तथा राहत व्यवस्थापनमा NRNA सरकारसँग मिलेर वा आफ्नै संयन्त्रमार्फत तत्काल सक्रिय हुन तयार रहेको पनि बताएका थिए।

NRNA प्रवक्ता सोम सापकोटाले मध्यपूर्व संकटले नेपाली श्रमिकहरूको रोजगारी, सुरक्षा तथा मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको उल्लेख गर्दै नीतिगत तयारी र सुरक्षात्मक संयन्त्र समयमै बलियो बनाउनुपर्ने बताए। यस्तै NRNA का पूर्व अध्यक्ष डा. बद्री केसीले मध्यपूर्वमा पछिल्ला घटनाक्रमले नेपाली श्रमिकहरूमा डर र अनिश्चितताको वातावरण सिर्जना गरेको भन्दै सरकार र NRNA बीच अझ सशक्त सहकार्य आवश्यक रहेको बताए।

महिला संयोजक रश्मि थापाले दक्ष र सीपयुक्त जनशक्ति मात्र वैदेशिक रोजगारीमा पठाउने नीति आवश्यक रहेको धारणा राखिन्। बैठकमा महासचिव डा. चिरञ्जीवी खड्का, सहकोषाध्यक्ष गंगा खतिवडा तथा एनसीसी साउथ सुडानका अध्यक्ष रामप्रसाद पाध्यासहित विभिन्न पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा केही पदाधिकारीहरू जुममार्फत पनि सहभागी भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार