काठमाडौं(जस)–यो वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ । सोमबार प्रकाशित परिणामअनुसार यसवर्ष ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक भएको जानकारी दिएको हो । एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो ।
यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गरिएको हो । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी एसइईको नतिजा कसरी हेर्ने भन्ने बारेमा जानकारी दिएको छ । कार्यालयले नतिजा हेर्न ‘एसएमएस’ गरेर वा सिधै ‘वेबसाइट’मा गएर एसइईको नजिता हेर्न सकिने व्यवस्था गरेको छ ।
यस वर्ष गत चैत १९ गतेदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको थियो । यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जना परीक्षामा सहभागी हुन आवेदन दिएका थिए । यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् । चैत २९ गते सम्पन्न एसइई परीक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न सरकारले बोर्डलाई निर्देशन दिएपछि बोर्डले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको थियो ।
विगतमा परीक्षा सम्पन्न भएको करिब तीन महिनामा नतिजा सार्वजनिक हुने गरेको भए पनि यस वर्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले परीक्षा सुरु हुनुभन्दा पहिले नै बोर्डलाई एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएका थिए । यस वर्ष परीक्षा भएकै केन्द्रमा परीक्षा सकिएको तीन दिनभित्र परीक्षाको उत्तरपुस्तिका परीक्षण गरिएको थियो ।
यसरी हेर्न सकिन्छ नतिजा
बोर्डले सोमबार एक सूचना जारी गर्दै एसइईको नतिजा हेर्ने वेबसाइटसहितको सूची सार्वजनिक गरेको छ । जसअनुसार एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिने जनाएको छ । विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्टकोडमार्फत नतिजा हेर्न सक्ने कार्यालयले जनाएको छ । त्यस्तै, नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र युएसएसडीमार्फत नतिजा हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट ९धधध।कभभ।नयख।लउ० , राष्ट्रिय परीक्षा बोर्ड (धधध।लभद।नयख।लउ० र नेपाल टेलिकम (धधध।कभभ।लतअ।लभत।लउ० लगायतबाट नतिजा हर्न सकिन्छ ।