शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

गैरआवासीय नेपाली संघको सक्रियता, नागरिकता विधेयकमा संशोधनदेखि ज्ञान सम्मेलनको तयारीसम्म

आइतबार, बैशाख २७ २०८३

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेम राज शर्माले आफ्नो कार्यकालको तेस्रो पाक्षिक प्रतिवेदन सार्वजनिक गरेका छन् । जसमा संघका पछिल्ला गतिविधि र आगामी योजनाहरूको विस्तृत फेहरिस्त प्रस्तुत गरिएको छ । प्रतिवेदनमा गैरआवासीय नेपालीहरूको हकहित, नीतिगत सुधारका लागि नेपाल सरकारसँगको समन्वय, र प्रवासमा रहेका नेपालीहरूको समस्या समाधानका लागि चालिएका कदमहरूलाई मुख्य रूपमा समेटिएको छ ।
पछिल्लो १५ दिनको अवधिमा संघले नागरिकता सम्बन्धी ऐन, महिला सम्मेलन, ज्ञान सम्मेलन र दोस्रो पुस्ताका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने जस्ता विषयमा सघन रूपमा कार्य गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनको सबैभन्दा महत्वपूर्ण पक्षका रूपमा गैरआवासीय नेपाली सम्बन्धी विधेयकमा संघले राखेको सुझावलाई लिइएको छ । प्रस्तावित ‘गैरआवासीय नेपाली सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयक २०८३’ को मस्यौदामाथि परराष्ट्र मन्त्रालयले आयोजना गरेको अन्तरक्रियामा संघले आफ्नो स्पष्ट धारणा राखेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थितिमा भएको उक्त छलफलमा संघको तर्फबाट व्यापक संशोधन प्रस्तावहरू प्रस्तुत गरिएको डा. शर्माले जानकारी दिए । संघले विशेषगरी गैरआवासीय नेपालीहरूको नागरिकता, सम्पत्तिको अधिकार, कर प्रणाली र लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी स्पष्टता हुनुपर्नेमा जोड दिएको छ । विश्वभरका गैरआवासीय नेपालीहरूबाट संकलन गरिएका सुझावहरूलाई एकीकृत गरी श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा सम्बन्धी महाशाखामा बुझाइएको र यसले प्रवासी नेपालीहरूको अधिकार संरक्षणमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।
महिला सशक्तिकरणको क्षेत्रमा पनि संघले आफ्नो सक्रियता बढाएको प्रतिवेदनमा उल्लेख छ । पहिलो एनआरएनए विश्व महिला सम्मेलनको आयोजनाका लागि संघले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता गुरुङसँग भेटघाट गरी सहकार्यको प्रस्ताव राखेको छ । ‘महिला सशक्तिकरणको आधारः रोजगारी, उद्यम र व्यापार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस सम्मेलनले नेपाली महिलाहरूको उद्यमशीलता र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । यसका लागि राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोग जस्ता सरकारी निकायहरूसँग समेत सुझाव संकलन गरिएको छ । सम्मेलनमा शिक्षा, स्वास्थ्य, मानसिक स्वास्थ्य, लैंगिक हिंसा र जलवायु परिवर्तन जस्ता गम्भीर विषयमा पनि घनीभूत छलफल हुने गरी तयारी अगाडि बढाइएको छ ।
यसैगरी, प्राज्ञिक र बौद्धिक क्षेत्रलाई समेट्न संघले ‘चौथो एनआरएनए विश्व ज्ञान सम्मेलन’को तयारीलाई तीव्रता दिएको छ । आगामी मे २ मा सम्पन्न तयारी बैठकले यस सम्मेलनलाई केवल औपचारिक छलफलमा मात्र सीमित नराखी परिणाममुखी बनाउने निर्णय गरेको छ । नेपाल सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाहरूको सहभागितामा आयोजना हुने यस सम्मेलनको मुख्य उद्देश्य परम्परागत अर्थतन्त्रलाई ज्ञान र प्रविधिमा आधारित अर्थतन्त्रमा रूपान्तरण गर्नु रहेको छ । विश्वभर छरिएर रहेका नेपाली विज्ञहरूलाई एउटै मञ्चमा ल्याएर उनीहरूको ज्ञान र सीपलाई नेपालको विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा प्रतिवेदनले स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ ।
प्रवासमा रहेका दोस्रो पुस्ताका नेपाली युवाहरूलाई आफ्नो जरा र संस्कृतिसँग जोड्ने उद्देश्यले संघले ‘प्रथम एनआरएनए दोस्रो पुस्ता विश्व सम्मेलन’को अवधारणा अगाडि सारेको छ । अप्रिल २६ मा भर्चुअल माध्यमबाट सम्पन्न प्रारम्भिक छलफलमा विदेशमा जन्मिएका र हुर्किएका नेपाली युवाहरूको पहिचान र उनीहरूलाई नेपाली समुदायसँग जोड्ने संरचनाबारे बहस भएको थियो । यो अभियानले नयाँ पुस्तामा नेपालीपनको भावना जगाउन र उनीहरूको दक्षतालाई नेपालको हितमा प्रयोग गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास डा. शर्माले व्यक्त गरे ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सामाजिक सुरक्षाका विषयमा पनि प्रतिवेदनले महत्वपूर्ण जानकारी दिएको छ । मे १ मा इजरायलमा रहेका नेपाली कामदारहरूका लागि आयोजित सामाजिक सुरक्षा कोष सम्बन्धी अनलाइन अभिमुखीकरण कार्यक्रममा संघले सहभागिता जनाएको थियो । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन र उनीहरूको भविष्य सुरक्षित गर्न सरकारसँगको सहकार्यमा जनचेतना जगाउने कार्यलाई संघले प्राथमिकतामा राखेको छ । यसका साथै, अन्तर्राष्ट्रिय श्रम संगठनसँगको सहकार्यमा संघको सचिवालय र विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्का कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने कार्यशाला पनि सम्पन्न भएको छ ।
विद्यार्थीहरूको हकहित र मानवीय सहायताका क्षेत्रमा पनि एनआरएनएको सक्रियता उत्तिकै देखिएको छ । लण्डनमा आयोजित एक कार्यक्रममा बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोग्नुपरेका स्वास्थ्य बीमा, कानुनी सल्लाह र करियर सम्बन्धी समस्याहरूका बारेमा व्यापक छलफल गरिएको छ । विद्यार्थीहरूको हितका लागि दूतावास र विश्वविद्यालयहरूसँगको समन्वयलाई प्रभावकारी बनाउन डा. शर्माले जोड दिए । त्यस्तै, अन्तर्राष्ट्रिय रेडक्रस महासंघसँगको समन्वय बैठकमा विपद् व्यवस्थापन र मानवीय सहायताका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । प्रतिवेदनमा उल्लेखित सबै योजनाहरूलाई सफल पार्न डा. शर्माले सबै सरोकारवाला निकाय, सञ्चारमाध्यम र विश्वभरका गैरआवासीय नेपालीहरूलाई सहयोग र सहकार्यका लागि अपिल समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार