काठमाडौँ(जस)लक्ष्मी सनराइज बैंक लिमिटेडले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग ‘बैंकिङ अन वुमन’ पहलअन्तर्गत सहकार्य सम्झौता गरेको छ । सम्झौता ग्लोबल डाटा व्यवस्थापन तथा लैङ्गिक तथ्यांक संकलन (सेक्स डिसअग्रिगेटेड डाटा–एसडीडी) सम्बन्धी रहेको छ ।
उक्त कार्यक्रम महिला उद्यमशीलता प्रवद्र्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल ‘वुमेन इन्टरप्रेन्योर्स फाइनान्स इनिसिएटिभ’ मार्फत सहयोग प्राप्त गर्नेछ । वे–फाइ विश्वभर महिला स्वामित्व तथा नेतृत्वमा रहेका साना तथा मझौला उद्यम (डब्लुएसएमईएस) मा लगानी र वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको प्लेटफर्म हो ।
यस अन्तर्गत रहेको ‘विमेन इन्टरप्रेन्योर्स फाइनान्स कोड’ वित्तीय संस्था, नियामक निकाय तथा सरोकारवाला बीचको साझा प्रतिबद्धता हो, जसले महिला उद्यमीलाई वित्तीय पहुँच बढाई आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा योगदान पु¥याउने लक्ष्य राखेको छ । सम्झौतामा लक्ष्मी सनराइज बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई र आईएफसीका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक (फाइनान्सियल इन्स्टिच्युसन्स ग्रुप–अपस्ट्रिम एन्ड एडभाइजरी) मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन् ।
सहकार्यअनुसार आईएफसीले बैंकलाई लैङ्गिक आधारमा विभाजित तथ्यांक (एसडीडी) संकलन, विश्लेषण तथा उपयोग प्रणाली सुदृढ बनाउन प्राविधिक सहयोग गर्नेछ । यसले महिला स्वामित्वमा रहेका साना तथा मझौला उद्यमहरूको आवश्यकता, चुनौती र अवसर पहिचान गर्न मद्दत गर्नेछ । यस आधारमा बैंकले महिला उद्यमीका लागि थप प्रभावकारी र लक्षित वित्तीय सेवा तथा समाधान विकास गर्न सक्ने अपेक्षा गरिएको छ । बैंकले यस सहकार्यले जिम्मेवार बैंकिङ अभ्यासप्रति आफ्नो प्रतिबद्धता अझ मजबुत बनाउने तथा महिला उद्यमशीलता प्रवद्र्धन र समावेशी आर्थिक विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गरेको छ ।