शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

निजी क्षेत्रका उदाउँदा नक्षत्र : उद्योग, खेलकुद र उद्यमशीलतामा चम्किँएका डा. ईश्वर जिसी महासंघको सदस्यमा निर्वाचित

बुधबार, जेष्ठ ६ २०८३

काठमाडौं,नेपालको निजी क्षेत्रभित्र पछिल्ला वर्षहरूमा तीव्र रूपमा उदाएका युवा व्यवसायीमध्ये डा. ईश्वरबहादुर जिसी अहिले विशेष चर्चामा छन् । वैदेशिक रोजगार क्षेत्रबाट व्यवसायिक यात्रा सुरु गरेका जिसी आज उद्योग, स्वास्थ्य, कृषि, पर्यटन, लगानी र खेलकुदसम्म आफ्नो प्रभाव विस्तार गर्दै बहुआयामिक उद्यमीका रूपमा स्थापित भएका छन् ।
हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा कार्यकारिणी सदस्यमा निर्वाचित भएपछि उनको नेतृत्व क्षमता र निजी क्षेत्रभित्रको प्रभाव अझ मजबुत बनेको छ । महासंघको नयाँ नेतृत्वमा उनको उपस्थितिलाई युवा उद्यमशीलता, नयाँ सोच र व्यवसायिक ऊर्जाको प्रतिनिधित्वका रूपमा हेरिएको छ ।
व्यवसायिक क्षेत्रभित्र धेरैले अहिले जिसीलाई “कामबाट परिचय बनाएका व्यवसायी” का रूपमा लिन थालेका छन् । प्रचारभन्दा परिणाममा विश्वास गर्ने शैलीका कारण पनि उनी निजी क्षेत्रका धेरै व्यवसायीमाझ अलग पहिचान बनाउन सफल भएका छन् ।
डा. जिसी अहिले जिसी ग्रुपका अध्यक्ष हुन् । उनको नेतृत्वमा समूहले वैदेशिक रोजगार, स्वास्थ्य, उद्योग, कृषि, पर्यटन, विकास निर्माण र खेलकुद क्षेत्रमा उल्लेखनीय लगानी विस्तार गरिरहेको छ । पछिल्ला वर्षहरूमा समूहले व्यवसायिक दायरा बढाउँदै संस्थागत ढंगले अगाडि बढ्ने रणनीति अपनाएको देखिन्छ ।
एक समय केवल मेनपावर व्यवसायीसम्म सीमित मानिएका जिसीले अहिले आफ्नो व्यवसायिक साम्राज्यलाई फराकिलो बनाइसकेका छन् । उनी लुम्बिनी लायन्सका अध्यक्ष, फच्र्युन हेल्थ केयरका डाइरेक्टर, एचडी इन्डष्ट्रिज प्रालिका चेयरम्यान, नेपाल हिमालयन एग्रिकल्चर एन्ड बी फर्मका अध्यक्ष तथा विभिन्न व्यावसायिक संस्थामा नेतृत्वदायी भूमिकामा छन् । पर्यटन क्षेत्रमा एचडी होलिडे ट्राभल्स एन्ड टुर्समार्फत पनि उनी सक्रिय छन् ।
व्यवसायिक विविधीकरणमा विश्वास गर्ने जिसीले खेलकुद, कृषि, स्वास्थ्य र पर्यटनलाई भविष्यका सम्भावना बोकेका क्षेत्रका रूपमा हेरेका छन् । उनी अल्पकालीन लाभभन्दा दीर्घकालीन संरचनागत लगानीमा विश्वास गर्छन् ।
वैदेशिक रोजगार क्षेत्रमा पनि डा. जिसीको छुट्टै पहिचान छ । लामो समय अक्सफोर्ड इन्टरनेसनल प्रालिमार्फत ब्याबसाय गरेका उनले वैदेशिक रोजगार व्यवसायमा पारदर्शिता र विश्वसनीयतालाई प्राथमिकता दिएका थिए । यही कारण धेरैले उनलाई इमानदार व्यवसायीका रूपमा चिन्ने गरेका छन् ।
वैदेशिक रोजगार क्षेत्र विवाद, आरोप र अविश्वासले बेला–बेला प्रभावित भइरहँदा पनि जिसीले आफ्नो व्यावसायिक छवि जोगाइराख्न सफल भएको धेरैको बुझाइ छ । उनी निकटहरूका अनुसार जिसि “विश्वास नै व्यवसायको सबैभन्दा ठूलो पूँजी हो” भन्ने मान्यतामा काम गर्ने व्यवसायी हुन् ।
उनको अर्को विशेषता भनेको युवाप्रतिको लगाव हो । व्यवसायसँगै खेलकुद क्षेत्रमा सक्रिय लगानी गरेर उनले नयाँ पुस्तालाई अवसर दिन खोजेको देखिन्छ ।
डा. जिसी अहिले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सका अध्यक्ष हुन् । नेपाली क्रिकेटलाई व्यावसायिक बनाउने उद्देश्यसहित उनी खेलकुद क्षेत्रमा प्रवेश गरेका हुन् । निजी क्षेत्रबाट खेलकुदमा लगानी गर्न अझै धेरै व्यवसायी हिच्किचाइरहेका बेला उनले क्लब निर्माण गरेर नयाँ सन्देश दिएका छन् ।
उनको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले यसपटक उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण खेलहरू जितेको छ । त्यसले खेलकुद क्षेत्रमा पनि जिसीको व्यवस्थापन क्षमता र दीर्घकालीन सोचबारे चर्चा बढाएको छ ।
खेलकुदलाई केवल मनोरञ्जन नभई युवाको भविष्य, अनुशासन र राष्ट्रिय पहिचानसँग जोडिएको क्षेत्रका रूपमा उनले लिने गरेका छन् । निकट स्रोतहरूका अनुसार आगामी दिनमा उनी खेल पूर्वाधार र युवा प्रतिभा विकासमा समेत लगानी विस्तार गर्ने तयारीमा छन् ।
डा. जिसीले युरोपियन इन्टरनेसनल युनिभर्सिटीबाट “ग्लोबल लिडरसिप इन बिजनेस म्यानेजमेन्ट” मा मानार्थ विद्यावारिधि (प्रोफेसनल डाक्टर) उपाधि प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय नेटवर्क निर्माण, लगानी विस्तार र व्यवसायिक व्यवस्थापनमा उनको सक्रियता उल्लेखनीय मानिन्छ ।
नेपाल उद्योग वाणिज्य महासंघमा उनको उदयलाई पनि अहिले अर्थपूर्ण रूपमा हेरिएको छ । महासंघभित्र नयाँ पुस्ताको नेतृत्व, लगानी प्रवर्द्धन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा उनले सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
व्यवसायिक वृत्तमा धेरैले जिसीलाई “शान्त स्वभावका तर परिणाममुखी व्यवसायी” का रूपमा व्याख्या गर्छन् । उनी विवादमा कम र काममा बढी केन्द्रित हुने व्यवसायी मानिन्छन् ।
आजको प्रतिस्पर्धी निजी क्षेत्रभित्र डा. ईश्वर जिसीको यात्रा एउटा उदाहरण बनेको छ ।
जहाँ संघर्ष छ, त्यहाँ सम्भावना पनि हुन्छ ।
जहाँ दृष्टि छ, त्यहाँ सफलता आफैं बाटो खोजेर आउँछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार