विमल सुवेदी,गीता मैत्री मिलन २०८३ आगामी वैशाख २७ गते २०८३ (मे १०, २०२६) आइतबार गीता परिवार नेपाल को आयोजनामा काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठान को सभाहलमा भव्य रूपमा आयोजना हुने भएको छ। आध्यात्मिक तथा नैतिक चेतनालाई समाजमा विस्तार गर्ने उद्देश्यसहित हुन लागेको यस सम्मेलनलाई नेपालमा गीता जागरण अभियानको ऐतिहासिक पहलका रूपमा हेरिएको छ।
विश्वका विभिन्न देशमा सक्रिय गीता परिवारले हाल १४ भाषामार्फत करिब १४ लाखभन्दा बढी साधक तथा सेवाग्राहीलाई श्रीमद्भगवद्गीता को अध्ययन, साधना र जीवनोपयोगी अभ्याससँग जोड्दै आएको जनाएको छ। “गीता पढौँ, पढाऔँ र जीवनमा लगाऔँ” भन्ने मूल नारासहित सञ्चालन भइरहेको यो अभियान पछिल्ला वर्षहरूमा तीव्र रूपमा विस्तार हुँदै गएको छ।
वि.सं. २०७७ मङ्सिर ३ गते पाण्डव पञ्चमीका दिन स्थापना भएको गीता परिवार नेपाल मा हाल १५ हजारभन्दा बढी सेवी प्रत्यक्ष रूपमा आबद्ध रहेको जानकारी आयोजकले दिएको छ। नेपालको गाउँ–बस्तीदेखि शहरसम्म गीता चेतना पुर्याउने लक्ष्यसहित विभिन्न धार्मिक, सांस्कृतिक तथा शैक्षिक गतिविधिहरू सञ्चालन हुँदै आएका छन्।
कार्यक्रम सफल बनाउन गीता परिवार नेपालका संस्थापक एवं संरक्षक जय किशन सारडा को अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। संस्थाकी अध्यक्ष सारिका अग्रवाल, सचिव राम प्रसाद अधिकारी लगायत पदाधिकारी, गीता प्रशिक्षक तथा गीतासेवीहरू विभिन्न उपसमितिमार्फत तयारीमा जुटेका छन्।
कार्यक्रममा गोविन्द देव गिरि महाराजको विशेष पावन सान्निध्य रहनेछ। उहाँ श्रीराम जन्मभूमि तीर्थ क्षेत्र न्यास का कोषाध्यक्षसमेत हुनुहुन्छ। त्यसैगरी अन्तर्राष्ट्रिय कार्याध्यक्ष आशू गोयल लगायत गीता परिवारका विभिन्न उच्च पदाधिकारी तथा साधकहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रमअन्तर्गत बिहान ९ बजे काठमाडौँको कमलादी गणेशस्थान बाट भव्य शोभायात्रा सुरु हुनेछ। शोभायात्रा प्रज्ञा भवन पुगेर मूल सभामा परिणत हुने कार्यक्रम तय गरिएको छ।
सभाहलको सीमित क्षमताका कारण करिब १५०० जनाको प्रत्यक्ष सहभागिता रहने भए पनि यूट्युब, जुमलगायत डिजिटल माध्यममार्फत लाखौँ दर्शकले प्रत्यक्ष अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
आयोजकले आध्यात्मिक जागरण, नैतिक शिक्षा र सकारात्मक जीवनदृष्टिको सन्देश फैलाउने उद्देश्यले आयोजना हुन लागेको “गीता मैत्री मिलन २०८३” कार्यक्रममा सहभागी भई अभियानलाई सफल बनाउन सम्पूर्ण धर्मानुरागी, सञ्चारकर्मी तथा सर्वसाधारणमा हार्दिक आग्रह गरेको छ।