शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

संघर्ष, सहनशीलता र सफलताको विरासत: नेउवा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालको उदाहरणीय र सफल नेतृत्वबाट सिक्नुपर्ने पाठ

बुधबार, जेष्ठ ६ २०८३

रामजी बगाले ,नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकाल आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै विदाईको चरणमा छन । ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा उनले प्रस्तुत गरेको मन्तव्य केवल औपचारिक अभिव्यक्ति थिएन, बरु निजी क्षेत्रको विगत, वर्तमान र भविष्यलाई समेट्ने गहिरो दृष्टिकोण थियो।
ढकालको विदाईसँगै एक सफल, संयमी र परिणाममुखी नेतृत्वको अध्याय टुंगिँदैछ। व्यवसायी समुदायमा देखिएको व्यापक सम्मान र “हाई–हाई” ले उनको कार्यशैलीप्रतिको विश्वास र स्वीकृतिलाई स्पष्ट संकेत गर्छ।
संघर्षबाट उठेर नेतृत्वको शिखरसम्म पुगेका ढकाल नेपाली व्यवसायिक क्षेत्रका लागि एउटा जिउँदो उदाहरण बनेका छन्। सानो ब्याबसायबाट सुरु गरेर ठूला व्यवसायिक संरचना निर्माण गर्नु, चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्नु र कठिन परिस्थितिमा पनि धैर्य नगुमाउने गुणले उनलाई अलग पहिचान दिएका छन्। यही कारण, उनी केवल एक अध्यक्ष मात्रै होइनन्, व्यवसायिक क्षेत्रका “रोल मोडेल”का रूपमा स्थापित भएका छन्।
उनको नेतृत्वको मूल विशेषता सहनशीलता र व्यावहारिकता हो। राजनीतिक अस्थिरता, आर्थिक संकट, कोभिड–१९ महामारी, र विभिन्न नीतिगत जटिलताबीच उनले निजी क्षेत्रको आवाजलाई सशक्त रूपमा उठाए। महासंघलाई केवल औपचारिक संस्थाबाट नीतिगत प्रभाव पार्ने प्लेटफर्ममा रूपान्तरण गर्नु उनको ठूलो उपलब्धि मानिन्छ।
ढकालले आफ्नो मन्तव्यमा महासंघको ६० वर्षलाई देशको आर्थिक इतिहाससँग जोड्दै व्याख्या गरे। उनका अनुसार, यो यात्रा केवल वर्षहरूको हिसाब होइन, बरु संघर्ष, संकल्प र सहकार्यका इट्टाहरूले बनेको एउटा मजबुत संरचना हो। यही संरचनाले नेपालको आर्थिक मेरुदण्डलाई बलियो बनाउँदै आएको छ।
उनको कार्यकालमा निजी क्षेत्र प्रवर्द्धन तथा संरक्षण रणनीति (PSPP) जस्तो महत्वपूर्ण नीति पारित हुनु ऐतिहासिक उपलब्धि हो। यसले निजी क्षेत्रलाई सुरक्षा, स्थायित्व र नीतिगत स्पष्टता दिने अपेक्षा गरिएको छ। ढकालले सरकारसँग सहकार्य गर्दै निजी क्षेत्रका मुद्दाहरूलाई राष्ट्रिय एजेन्डामा स्थापित गराउन महत्वपूर्ण भूमिका खेले।
आर्थिक दृष्टिकोणमा पनि उनी स्पष्ट र यथार्थवादी देखिए। उनले नेपालको सुस्त आर्थिक वृद्धि, न्यून विदेशी लगानी र उच्च युवा पलायनलाई गम्भीर चुनौतीका रूपमा औंल्याए। प्रत्येक वर्ष लाखौं युवा विदेशिनु केवल श्रम बजारको समस्या नभई राष्ट्रिय अर्थतन्त्रकै कमजोरी भएको उनले स्पष्ट संकेत गरे।
उनको विचारमा समाधान एउटै छ ।देशभित्रै सम्मानजनक रोजगारी सिर्जना र यसको नेतृत्व निजी क्षेत्रले लिनुपर्छ। उनले तथ्यसहित बताए कि नेपालमा ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले नै दिइरहेको छ, त्यसैले निजी क्षेत्रलाई नियन्त्रण होइन, प्रोत्साहन आवश्यक छ।
ढकालको अर्को विशेषता भनेको सकारात्मक सोच हो। संकटका बेला पनि उनले निराशा फैलाउने होइन, आशा जगाउने काम गर्छन । कोभिड महामारीका समयमा आफू बिरामी हुँदा पनि उनले व्यवसायीलाई हौसला दिन छाडेका थिएनन । भूकम्पपछि ध्वस्त भएको व्यवसाय क्षेत्रलाई पुनः उठाउने अभियानमा पनि उनको सक्रियता उल्लेखनीय रह्यो।
उनको नेतृत्वमा स्वदेशी पूँजी परिचालनको नयाँ प्रयास पनि सुरु भयो। “नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड” जस्तो परियोजनाले स्वदेशी लगानीबाट ठूला आयोजना सम्भव छन् भन्ने विश्वास जगाएको छ। यसले “नेपालमा केही हुँदैन” भन्ने मानसिकता तोड्न महत्वपूर्ण भूमिका खेलेको छ।
विदेशी लगानी आकर्षणमा पनि उनले सक्रिय कूटनीतिक भूमिका खेले। विभिन्न देशहरूमा आयोजना गरिएका व्यवसायिक सम्मेलनहरूले नेपालप्रति अन्तर्राष्ट्रिय चासो बढाएको छ। तर उनले सधैँ जोड दिएका छन्—सुशासन बिना लगानी सम्भव छैन।
ढकालको स्पष्ट धारणा छ कि आर्थिक सुधारको नयाँ चरण सुरु भइसकेको छ। अब कानुनी स्थायित्व, प्रविधिको प्रयोग, पारदर्शिता र सदाचारलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ।
उनको नेतृत्वबाट सबैभन्दा ठूलो सिकाइ के हो भने व्यवसाय केवल नाफा कमाउने माध्यम मात्रै होइन, राष्ट्र निर्माणको आधार पनि हो। उनले निजी क्षेत्रलाई सामाजिक जिम्मेवारीप्रति पनि सजग बनाउने प्रयास गरे।
अहिले ढकाल विदाई हुँदै गर्दा एउटा सन्देश स्पष्ट छ,ढकालको कार्यशैलीलाई पछ्याउने उद्योगी तथा व्यवसायीहरू सफल हुने प्रवल सम्भावना छ। किनकि उनको मोडलमा तीन आधार छन्: अनुशासन, निरन्तरता र अवसर पहिचान गर्ने क्षमता।
ढकाल नेपाली व्यवसायिक क्षेत्रका उदाहरणीय व्यक्तित्व समेत बन्न सफल भएका छन । उनले देखाएको बाटो केवल एक व्यक्तिको सफलता कथा होइन, सम्पूर्ण निजी क्षेत्रका लागि मार्गदर्शन पनि हो।
उनिबाट सिक्नुपर्ने कुरा धेरै छन, संघर्षबाट नडराउने, संकटमा संयमित रहने, अवसरलाई पहिचान गर्ने र सामूहिक हितलाई प्राथमिकता दिने।
उनको विदाईसँगै नेतृत्वको एउटा चरण सकिएको छ, तर उनले निर्माण गरेको सोच, प्रणाली र प्रेरणा दीर्घकालसम्म जीवित रहनेछ।
अन्ततः, चन्द्रप्रसाद ढकालले प्रमाणित गरेका छन,सही दृष्टिकोण, धैर्यता र दृढतासहित अघि बढ्ने हो भने निजी क्षेत्र मात्र होइन, समग्र राष्ट्रलाई पनि समृद्धिको दिशामा लैजान सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार