विमल सुवेदी,
नेपाली काँग्रेसभित्र केही पूर्वज नेताहरूले पालैपालो बैठकहरू आयोजना गरिरहेका छन्। भेटघाट र छलफल आफैंमा नराम्रो होइन—यदि त्यो पार्टी हितका लागि हो भने। तर यहाँ देखिएको परिदृश्य त्यस्तो छैन; यो त जुँगाको लडाइँ जस्तो भएर पार्टीलाई झन् कमजोर बनाउने खेलजस्तो देखिन्छ। भेलामा देखिएका अनुहारहरू पनि प्रायः ‘डेट एक्सपायर’ भइसकेका जस्ता लाग्छन्। त्यसैले, हारको जिम्मेवारी विशेष महाधिवेशन पक्षधरले लिनुपर्छ भन्ने दाबी गर्नु आफैंमा प्रश्नयोग्य छ। आफूहरू दूधले नुहाएका जस्ता देखाएर सार्वजनिक गरिएका निर्णयहरू पनि रेडिमेड आरोपभन्दा फरक देखिँदैनन्।
फागुन २१ को निर्वाचन परिणाम र पार्टीको वर्तमान अवस्था तत्कालीन नेतृत्वका कमजोरीकै परिणाम हुन्। २०७२ मा आफ्नै नेतृत्वमा संविधान जारी गरेपछि भारतले लगाएको नाकाबन्दीको ठोस रूपमा प्रतिवाद गर्न नसक्नु—त्यसको असर २०७४ को निर्वाचनमा लज्जास्पद हारका रूपमा देखियो। झण्डै दुईतिहाइको एकीकृत वाम सरकार आफ्नै कारण विघटन भएपछि, प्रमुख प्रतिपक्षको हैसियतमा चुनावी मैदानमा नउत्री माधव–प्रचण्डलाई बोकेर सत्ताको खेलमा लाग्नु—यो पनि रणनीतिक त्रुटि थियो। २०७९ को निर्वाचनमा कम्युनिस्ट शक्तिसँग तालमेल गर्नु, पहिलो शक्ति बनेपछि पनि आफ्नै नेतृत्वमा सरकार गठन नगर्नु र साना दलसँग मिलेर दोस्रो हैसियतमा सत्तामा बस्नु—यी सबै निर्णयहरूले पार्टीलाई कमजोर बनाएका छन्।
भदौ २२–२३ को जेन्जी आन्दोलनको मर्म नबुझी नेतृत्व परिवर्तनका लागि तयार नहुनु, पार्टीलाई अनिर्णयको बन्दी बनाउँदै विशेष महाधिवेशन हुन नदिनु—यी सबै कारणले आजको अवस्था सिर्जना भएको हो। निर्वाचन आयोगले आधिकारिकता विशेष महाधिवेशन पक्षलाई दिइसकेपछि पनि तत्काल एकताको पहल गर्नुको सट्टा चुनाव नजिकिँदै गर्दा अदालत धाउनु—यो निर्णय कति उचित थियो? यसलाई पहिले स्वीकार गर्नुपर्ने हुन्छ।
एकातिर अदालतमा मुद्दा हाल्ने, अर्कोतिर गगनलाई सभापति मानेर टिकट लिने—यो दोहोरो चरित्र होइन र? आफैं जान नसकेपछि आफ्ना नजिकका व्यक्ति, भाइ-भारदारलाई टिकट दिलाउनु—के यो नैतिक थियो? पूर्व कार्यवाहक पक्षले ७० सिट जित्ने दाबी गर्दा विशेष पक्षधरले ३८ सिट ल्याएको भन्दै आरोप लगाइन्छ भने बाँकी ३२ सिट हार्नुमा असहयोग गर्नेहरूको पनि जिम्मेवारी हुन्छ। त्यसको उत्तरदायित्व लिने र अनुशासनको दण्ड स्वीकार गर्ने साहस देखाउनुपर्छ।
यदि विशेष महाधिवेशन वा १५ औं महाधिवेशन समयमै भएको भए काँग्रेसले सहज रूपमा सय सिट नाघ्न सक्थ्यो। तर त्यो हुन नदिनुमा केही समूहकै भूमिका देखिन्छ। जेन्जी आन्दोलनको मर्म विशेष पक्षधरले बुझेका थिए, तर अरूले बुझेर पनि नबुझेको नाटक गरे। पुनः हारिसकेका शक्तिसँग मिलेर संयुक्त चुनाव लड्ने प्रपञ्च पनि त्यही सोचको परिणाम हो।
यी सबै कारणहरूले नै चुनावी हार निम्त्याएको हो। विशेष महाधिवेशन नभएको भए आजको अवस्था झन् भयावह हुन सक्थ्यो। अवसरवादी अनुहारहरूले टिकट पाउँथे र जनतामाझ पुग्नसमेत नसक्ने अवस्था हुन्थ्यो। आफ्नो कमजोरी नदेख्ने तर अरूको दोष औंल्याउने प्रवृत्ति अन्त्य हुनुपर्छ। बार्गेनिङ छाडेर मूलधारमा फर्किनुहोस्, वर्षौं संगठन बोकेका कार्यकर्तालाई अगाडि ल्याउनुहोस्—यही पार्टीको भलाइ हो।
राजनीति जनताको सेवाका लागि हुनुपर्छ। तर व्यवहारमा यो केही व्यक्तिको व्यक्तिगत फाइदाको माध्यम बनेको देखियो। जनताको विश्वास जित्ने माध्यम हुनुपर्ने राजनीति स्वार्थको खेलमैदान बन्यो। यसलाई चिर्ने माध्यम नै विशेष महाधिवेशन हो, जुन विशेष परिस्थितिको उपज हो। यसको मर्मअनुसार १५ औं महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्दै संगठन सुदृढ गर्नुपर्नेछ।
विधि–विधानअनुसार सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई काम गर्न दिँदै १५ औं महाधिवेशनसम्म लैजानु नै यसको उद्देश्य हो। यसलाई नबुझी विघटित संरचनालाई मान्यता दिन खोज्नु गलत हो। अब पनि गुटबन्दी र भ्रम फैलाउने काम बन्द हुनुपर्छ। इमानदार कार्यकर्ता र मतदाताले चिन्ने चिन्ह भनेकै ‘रुख’ र ‘चार तारा’ हो—त्यही काँग्रेस हो।
विपी कोइरालाले भन्नुहुन्थ्यो—जब पार्टीभित्र सुकिला–मुकिलाहरूको दबदबा बढ्छ, इमानदार कार्यकर्ताले विद्रोह गर्नुपर्छ। अहिलेको अवस्था पनि त्यस्तै देखिन्छ। नातावाद र आसेपासेवादले पार्टीभित्र ठूलो विचलन ल्याएको छ। त्यसलाई ढाकछोप गर्दै सम्पूर्ण दोष विशेष पक्षधरमाथि थोपर्नु गलत हो।
अतः सम्पूर्ण नेता–कार्यकर्ता सबै कुरा बिर्सेर सक्रिय सदस्यता नवीकरण गर्दै १५ औं महाधिवेशनतर्फ जुट्न आवश्यक छ। अब पनि ढिलाइ गरियो भने पार्टी अझ कमजोर हुनेछ। इमानदारले विगतबाट सिकेर अगाडि बढ्छ; बेमानलाई पछुतो हुँदैन। इमानदार बन्ने कि बेमानी—निर्णय तपाईंकै हातमा छ।
समग्रमा, पूर्व कार्यवाहक वा शेखर समूहका नाममा भएका भेला पार्टीहितमा होइनन्; ती व्यक्तिगत स्वार्थबाट प्रेरित छन्। त्यस्ता भेलामा सहभागी हुनेहरू पनि अवसरवादी प्रवृत्तिका देखिन्छन्। अवसरवादी कसैका हुँदैनन्—मौका मिल्नेबित्तिकै धार फेर्छन्। त्यसैले यस्ता शक्तिलाई बोकेर हिँड्नु भन्दा, पूर्ण दाइ र शेखरजी—विना शर्त विशेष महाधिवेशनपछिको नेतृत्वलाई साथ दिनुहोस्। समयले इमान्दारिताको मूल्यांकन अवश्य गर्नेछ ।
विमल सुवेदी
महासमिति सदस्य
नेपाली काँग्रेस