काठमाडौं,नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र चुलिएको आन्तरिक विवाद अन्ततः निर्णायक मोडमा टुंगिएको छ। अध्यक्ष भुवन सिंह गुरुङले कडा कदम चाल्दै संघका प्रमुख पदाधिकारीहरूले दिएको राजीनामा औपचारिक रूपमा अस्वीकृत गरेका छन् र सबैलाई पुनः आफ्नै जिम्मेवारीमा फर्किन स्पष्ट निर्देशन दिएका छन् साथै गुरुङले सल्लाहकारमा पुन नवराज केसि र धनलाल जैशीलाई नियुक्ति दिएका छन ।
संघको आधिकारिक लेटरमार्फत अध्यक्ष गुरुङले प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठ प्रसाद पौडेल, महासचिव महेशकुमार बस्नेत, सचिव कुन्छा दोर्जे डिम्दोङ, कोषाध्यक्ष धनमाया सिंजाली तथा सदस्यहरू रेखा शर्मा, भरत सापकोटा, रमा खड्का र देवीप्रसाद गिरीको राजीनामा अस्वीकृत भएको जानकारी गराएका हुन्।
सबै पदाधिकारीलाई सम्बोधन गरि पत्र लेख्दै गुरुङसहित बहुमत कार्यसमितिले राजीनामा दिने पदाधिकारीहरूलाई पुन आ आफ्नो जिम्मेवारीमा फर्कन आग्रह गरेको छ। पत्रमा स्पष्ट रूपमा “राजीनामा अस्वीकृत भइसकेकाले तत्काल कार्यालयमा उपस्थित भई आफ्नो जिम्मेवारी सम्हाल्न” निर्देशन दिइएको छ, जसले नेतृत्वको कडाइ र संस्थागत अनुशासनप्रतिको प्रतिबद्धता प्रष्ट देखाउँछ।
एकताका लागि
पूर्व अध्यक्षहरू, सल्लाहकारहरू र वर्तमान नेतृत्वबीच भएको गहन छलफलपछि ब्याबसायीक हकहितका लागि यस्तो निर्णय गरिएको हो । केही समयदेखि संघभित्र देखिएको विभाजनको संकेतलाई अन्त्य गर्दै सबै पक्षलाई एउटै धारमा ल्याउने उद्देश्यले अध्यक्ष गुरुङसहित बहुमत कार्यसमितिले सक्रिय पहल गरेका थिए।
उनले स्पष्ट सन्देश दिएका छन्
“यो जुध्ने र झगडा गर्ने समय होइन, एकताबद्ध भएर अघि बढ्ने समय हो।”
यो अभिव्यक्तिले संघभित्रको शक्ति संघर्षलाई अन्त्य गर्दै अबको ध्यान व्यवसायिक हित, श्रमिकको विश्वास र संस्थाको गरिमा जोगाउनेतर्फ केन्द्रित गर्नुपर्ने संकेत दिएको छ।
संयुक्त बैठकले पुरानै कार्यसमितिलाई यथावत राख्ने सहमति पनि गरेको छ। यसले नेतृत्वमा स्थायित्व ल्याउनुका साथै आगामी दिनमा निर्णय प्रक्रिया थप सुदृढ हुने अपेक्षा गरिएको छ। राजीनामा अस्वीकृत गर्ने निर्णयलाई संस्थागत निरन्तरता कायम गर्ने रणनीतिक कदमका रूपमा लिइएको छ।
व्यवसायीहरूमा सकारात्मक सन्देश
पछिल्लो निर्णयसँगै संघभित्रको तनावपूर्ण अवस्था क्रमशः अन्त्यतर्फ उन्मुख भएको छ। लामो समयदेखि देखिएको अन्योल र आन्तरिक खिचातानी अन्त्य हुने संकेत देखिएपछि अधिकांश व्यवसायीहरूले यसलाई समयमै गरिएको परिपक्व निर्णय भन्दै स्वागत गरेका छन ।
अबको बाटो: सुधार र एकता
अब संघ एकीकृत रूपमा अघि बढ्दै वैदेशिक रोजगार क्षेत्रका चुनौती समाधान, नीतिगत सुधार र व्यवसायी हितका मुद्दामा केन्द्रित हुने अपेक्षा गरिएको छ। अध्यक्ष गुरुङले आवश्यक परे अझ कडा निर्णय लिन तयार रहेको संकेत दिँदै व्यवसायिक हकहितको रक्षा आफ्नो प्राथमिकता रहेको स्पष्ट पारेका छन्।
यो घटनाक्रमले संघभित्र नेतृत्वको नियन्त्रण, संस्थागत अनुशासन र एकताको सन्देश एकैसाथ प्रवाह गरेको छ । जसले आगामी दिनमा वैदेशिक रोजगार क्षेत्रलाई स्थिरता र विश्वसनीयता दिने विश्वास गरिएको छ । अब कार्यसमिति एक भएर ब्याबसायिक एकताको लागि काम गर्ने अध्यक्ष गुरुङले बताए ।









