काठमाडौं ,नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र देखिएको विवाद अन्ततः सहमतिमै टुंगिएको छ। अध्यक्ष भुवन सिंह गुरुङको सक्रिय पहलमा संघ पुनः एकतामार्गमा फर्किएको छ, जहाँ मुख्य रूपमा राजीनामा अस्वीकृत, सल्लाहकारमाथिको कारवाही फिर्ता र पुरानै कार्यसमिति यथावत राख्ने निर्णयले संस्थालाई स्थिरता दिएको छ।
अध्यक्ष गुरुङ, पूर्व अध्यक्षहरू र सल्लाहकारहरूको संयुक्त बैठकपछि कार्यसमितिका केही पदाधिकारीले दिएको राजीनामा औपचारिक रूपमा अस्वीकृत गरिएको छ। यससँगै हटाइएका सल्लाहकार नवराज केसी र धनलाल जैशीमाथिको कारवाही पनि फिर्ता गर्दै पुनः सल्लाहकारको जिम्मेवारीमा ल्याइएको छ।
यी निर्णयहरूलाई संघभित्रको एकता पुनर्स्थापनाका निर्णायक कदमका रूपमा हेरिएको छ। विशेषगरी विभाजनको संकेत देखिएको अवस्थामा सबै पक्षलाई समेट्दै अघि बढ्ने रणनीतिले संघलाई पुनः एकढिक्का बनाएको छ।
अध्यक्ष गुरुङले स्पष्ट सन्देश दिएका छन् “यो जुध्ने समय होइन, एकताबद्ध भएर अगाडि बढ्ने समय हो।” उनले अब सबै विवाद अन्त्य गर्दै व्यवसायिक हित, श्रमिकको विश्वास र संस्थाको गरिमा जोगाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए।
संयुक्त बैठकले पुरानै कार्यसमितिलाई यथावत राख्दै संस्थागत निरन्तरता कायम गर्ने सहमति गरेको छ। यसले नेतृत्वमा स्थायित्व ल्याउनुका साथै आगामी दिनमा निर्णय प्रक्रिया अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
पछिल्लो घटनाक्रमसँगै संघभित्रको तनावपूर्ण अवस्था अन्त्य हुँदै गएको छ र व्यवसायीहरूबीच सकारात्मक सन्देश प्रवाह भएको छ। धेरै व्यवसायीहरूले यसलाई समयमै गरिएको सहमति भन्दै स्वागत गरेका छन्।
अब संघ एकीकृत रूपमा अघि बढ्दै वैदेशिक रोजगार क्षेत्रका चुनौती समाधान, नीतिगत सुधार र व्यवसायी हितका मुद्दामा केन्द्रित हुने विश्वास गरिएको छ । गुरुङले ब्याबसायिक हकहितका लागि आफू जस्तो कदम चाल्ननि तयार भएको बताए ।