शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

अनलाईन प्रणाली ह्याक गरी ठेक्का  परिवर्तन गर्ने  निर्माण व्यवसायी ऋषिकेश गौली पक्राउ

बुधबार, जेष्ठ ६ २०८३

काठमाडौं ,सार्वजनिक खरिद प्रक्रियामै गम्भीर हस्तक्षेप हुनेगरी अनलाइन प्रणाली दुरुपयोग गरिएको प्रकरणमा एक निर्माण व्यवसायी पक्राउ परेका छन्। आशिष निर्माण सेवा प्रालिका सञ्चालक ऋषिकेश गौलीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले बुधबार काठमाडौँको पुरानो बानेश्वरबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई विभिन्न ठेक्कासम्बन्धी विवरण हेरफेर गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विशेषगरी आर्थिक प्रस्ताव खोलिनुअघि नै सम्बन्धित डकुमेन्ट परिवर्तन गरिएको आशंका गरिएको छ, जसले प्रतिस्पर्धात्मक खरिद प्रक्रियामाथि नै प्रश्न उठाएको छ।
यस प्रकरणमा गौलीसहित हालसम्म १३ जना निर्माण व्यवसायीमाथि अनुसन्धान अघि बढाइएको छ। घटनाको प्रकृति हेर्दा यो व्यक्तिगत नभई संगठित रूपमा गरिएको गतिविधि हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
प्रहरी प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार पक्राउ परेकाविरुद्ध सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ। आवश्यक प्राविधिक परीक्षण र डिजिटल प्रमाण सङ्कलनको कार्यसमेत तीव्र पारिएको जनाइएको छ।
यो घटनाले सार्वजनिक खरिद प्रणालीको सुरक्षा, पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ। विज्ञहरूले यस्ता साइबर हस्तक्षेप रोक्न प्रणालीगत सुधार, कडा अनुगमन र डिजिटल सुरक्षा सुदृढीकरण अपरिहार्य रहेको बताएका छन्।
सरकारी ठेक्कामा निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्न र यस्ता गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्न सरोकारवालाहरूले माग गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार