काठमाडौं,नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र देखिएको विवाद अहिले उत्कर्षमा पुगेको छ। महासचिव महेशकुमार बस्नेतले केही कार्यसमिति सदस्यको हस्ताक्षरसहित अध्यक्ष भुवनसिंह गुरुङसँग स्पष्टीकरण माग्दै पत्र सार्वजनिक गरेपछि सुरु भएको विवादले तीव्र रूप लिँदै अध्यक्ष गुरुङले बहुमत कार्यसमितिको निर्णयअनुसार कडा कदम अघि बढाएका छन्।
संघको बहुमतले महासचिव बस्नेतसँग तीन दिनभित्र प्रमाणसहित लिखित स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ। निर्णयमा स्पष्ट उल्लेख गरिएको छ कि तोकिएको समयभित्र चित्त बुझ्दो जवाफ नआएमा उनलाई निलम्बन गरिनेछ। नेतृत्व पक्षका अनुसार यो कदम संघभित्र अनुशासन कायम गर्ने, संस्थागत प्रक्रिया सुदृढ गर्ने र सुधार अभियानलाई अवरोधमुक्त बनाउने उद्देश्यले चालिएको हो।
महासचिव बस्नेतले अध्यक्षको कार्यशैलीमाथि प्रश्न उठाउँदै कार्यसमिति बैठकको निर्णय देखाएर स्पष्टीकरण माग गरेका थिए। उनले निर्णय प्रक्रिया अपारदर्शी भएको, सदस्यहरूलाई पर्याप्त जानकारी नदिई काम अघि बढाइएको तथा सल्लाहकारहरू हटाउने जस्ता विषयमा गम्भीर प्रश्न उठाएका थिए । तर अध्यक्ष पक्षले उक्त कदमलाई विधानविपरीत, गैरसंस्थागत र सीमित समूहको स्वार्थबाट प्रेरित गतिविधि भएको ठहर गरेको छ।
अध्यक्ष गुरुङले कार्यसमितिमा स्पष्ट बहुमत रहेको दाबी गर्दै संघका सबै निर्णयहरू विधि, विधान र पारदर्शी प्रक्रियाअनुसार भइरहेको बताएका छन । उनले संघको आधिकारिक लेटरप्याड प्रयोग गरी नेतृत्वविरुद्ध सार्वजनिक रूपमा आरोप लगाउनु संस्थागत मर्यादाविपरीत भएको उल्लेख गर्दै यसले व्यवसायीहरूमा अनावश्यक भ्रम सिर्जना गरेको बताए।
यसैबीच अध्यक्ष गुरुङले “सार्वजनिक सूचना तथा विशेष अपिल” जारी गर्दै सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीलाई एकताबद्ध हुन आग्रह गरेका छन्। अपिलमा उनले भनेका छन्,
“संघ र मेरो नेतृत्वलाई लक्षित गरी फैलाइएका आरोप, अफवाह तथा भ्रामक सूचनाहरू पूर्णतः निराधार, तथ्यहीन र योजनाबद्ध छन्। यस्ता गतिविधिले संघको एकता कमजोर पार्ने र व्यवसायीबीच अन्योल सिर्जना गर्ने प्रयास भएको प्रष्ट देखिन्छ।”
उनले संघ विधि, विधान र संस्थागत प्रक्रियाअनुसार पूर्ण रूपमा सञ्चालन भइरहेको स्पष्ट पार्दै थपे,
“सबै निर्णयहरू कार्यसमितिको बहुमत र संस्थागत सहमतिका आधारमा पारदर्शी रूपमा गरिँदै आएका छन्। संघको आधिकारिक निर्णयमा व्यक्तिगत वा कोठे छलफलको कुनै प्रभाव पर्दैन।”
अध्यक्ष गुरुङका अनुसार हालको कार्यसमिति वैधानिक रूपमा बहुमतसहित सक्रिय रहेको छ र व्यवसायीहरूको हक–हित संरक्षण, पारदर्शिता अभिवृद्धि तथा प्रणालीगत सुधारमा निरन्तर काम भइरहेको छ। “नयाँ सरकारसँग सहकार्य गर्दै वैदेशिक रोजगार क्षेत्र सुधारका लागि कार्ययोजना समेत बुझाइसकिएको छ,” उनले जानकारी दिए।
उनले थप स्पष्ट पारे,
“संघको बिधान अनुसार अगाडि बढेर गलत गर्नेहरूलाई कारबाही गर्दै अघि बढ्छौं भने संस्थामा कसैले पनि मनपरी कदम चाल्न सक्दैन। अब संस्था अझै बलियो बनेर व्यवसायिक हक–हितका लागि प्रभावकारी रूपमा काम गर्दै अगाडि बढ्नेछ।”
यसैबीच, वरिष्ठ व्यवसायी अख्तर हुसेनले महासचिवको कदमप्रति आपत्ति जनाउँदै भने,
“महासचिवले अध्यक्षको आदेशविपरीत कसैलाई पत्र लेख्ने र बैठक बोलाउने अधिकार हुँदैन। यस्ता गतिविधिले संस्थागत अनुशासन कमजोर बनाउँछ।”
त्यस्तै, संघका पुर्व अध्यक्ष प्रेम कटुवालले पनि महासचिवको कदमलाई संस्थागत मर्यादाविपरीत भएको टिप्पणी गरेका छन । उनका अनुसार कार्यसमितिको बहुमतलाई बेवास्ता गर्दै व्यक्तिगत ढंगले अध्यक्षलाई स्पष्टीकरण सोध्नु गलत अभ्यास हो ।
संघका पुर्व अध्यक्ष रोहन गुरुङले अहिलेको समस्या छिट्टै समाधान हुने बताए । संघमा बहुमतको निर्णयनै सदर हुने बताए ।
कार्यसमिति सदस्य राज लामाले केही समूहले योजनाबद्ध रूपमा नेतृत्वलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाउँदै भने,
“अध्यक्ष गुरुङ सुधारको एजेन्डामा दृढ छन्। त्यसलाई रोक्न खोज्ने समूह अहिले सक्रिय भएको देखिन्छ, व्यवसायीहरू सचेत हुनुपर्छ।”
समग्र घटनाक्रमले संघभित्र गहिरो ध्रुवीकरण देखिए पनि बहुमत कार्यसमितिको निर्णयलाई संस्थागत अनुशासन कायम गर्ने, नेतृत्व सुदृढ गर्ने र वैदेशिक रोजगार क्षेत्रको सुधार अभियानलाई अवरोधमुक्त बनाउने प्रयासका रूपमा हेरिएको छ। अब संघ सुद्दीकरणमा गएको र आगामी दिनमा ब्याबसायिक हकहितका लागि अगाडी बढ्ने अध्यक्ष गुरुङले बताए ।
उनले पुरानो नजिरका आधारमा कार्यसमितिको बहुमतले बिधानसम्बत गलत कार्य गर्नेलाई कारवाही गरेकोले भविस्यमा कुनैपनि संघ पदाधिकारीले गलत कार्य नगर्ने गुरुङले बताए ।
उनले आफुहरुले संघको पुरानो नजिरअनुसार नै कार्य गरेको बताए ।