शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एमाले सुदृढीकरणका लागि वैचारिक स्पष्टता, युवा नेतृत्व र सुशासनमा चानक पोखरेलको जोड

बुधबार, जेष्ठ ६ २०८३

कतार, नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई बदलिँदो राजनीतिक परिवेशमा थप सुदृढ बनाउँदै जनताको मनमा पुनः स्थापित गर्न वैचारिक स्पष्टता, युवा नेतृत्व र सुशासनमा केन्द्रित हुनुपर्ने सुझाव आएको छ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका सचिव चानक पोखरेलले पार्टी सुदृढीकरणका लागि सार्वजनिक गरेको धारणा अनुसार एमालेले ‘जनताको बहुदलीय जनवाद (जबज)’ लाई वर्तमान सन्दर्भअनुसार पुनर्व्याख्या गर्दै स्पष्ट वैचारिक मार्गचित्र तय गर्नुपर्नेमा जोड दिएका छन्। उनले पार्टीभित्र युवाहरूको अर्थपूर्ण सहभागिता र नेतृत्व विस्तारले नयाँ पुस्तामा सकारात्मक प्रभाव पार्ने उल्लेख गरेका छन्।
पोखरेलले संगठनभित्र आन्तरिक लोकतन्त्र सुदृढ गर्दै गुटबन्दीभन्दा विचारमा आधारित प्रतिस्पर्धाको संस्कृति विकास गर्नुपर्ने बताएका छन्। नेताहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने, आर्थिक पारदर्शिता कायम राख्ने र अनुशासनलाई कडाइका साथ लागू गर्न सके जनविश्वास बढ्ने उनको भनाइ छ।
उनले एमालेले जनसरोकारका मुद्दामा निरन्तर सक्रिय रहनुपर्ने आवश्यकता औंल्याउँदै गाउँ–गाउँमा जनतासँग प्रत्यक्ष जोडिने संयन्त्र निर्माण गर्नुपर्ने बताएका छन्। स्वास्थ्य, शिक्षा, रोजगारी तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हित संरक्षणमा ठोस कार्यक्रम ल्याउनुपर्ने सुझाव पनि दिएका छन्।
सुशासन र कार्यसम्पादनलाई प्राथमिकतामा राख्दै एमाले नेतृत्वका स्थानीय तहलाई ‘नमूना’का रूपमा विकास गर्नुपर्ने उनको धारणा छ। “बोल्नेभन्दा गर्ने” संस्कृतिलाई प्राथमिकता दिँदै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्ने उनले बताएका छन्।
आधुनिक सञ्चार र प्रविधिको प्रयोगमार्फत पार्टीका गतिविधि प्रभावकारी रूपमा जनतामाझ पुर्‍याउनुपर्नेमा जोड दिँदै उनले सामाजिक सञ्जालको रणनीतिक उपयोग आवश्यक रहेको उल्लेख गरेका छन्।
त्यसैगरी, राष्ट्रियता, सन्तुलित विदेश नीति र दीर्घकालीन आर्थिक विकासका स्पष्ट योजनासहित जनतामाझ जाने रणनीतिले एमालेको राजनीतिक आधार थप बलियो बन्ने विश्वास पोखरेलले व्यक्त गरेका छन्।
उनले निष्कर्षमा अनुशासनयुक्त कार्यकर्ता, त्यागी नेतृत्व र जनसेवामा समर्पित भावना नै पार्टीको दीर्घकालीन सफलताको आधार हुने बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार