काठमाडौं,वैदेशिक रोजगार क्षेत्रलाई लक्षित गर्दै पछिल्लो समय फैलाइएका आरोप–प्रत्यारोप
प्रति कडा प्रतिक्रिया जनाउँदै भुवन सिंह गुरुङले ती सबै दाबीहरू निराधार, भ्रामक र योजनाबद्ध रूपमा सिर्जना गरिएको हल्ला भएको बताएका छन । उनले व्यवसायीहरूलाई यस्ता अफवाहको पछि नलाग्न स्पष्ट अपिल गरेका छन ।
अध्यक्ष गुरुङका अनुसार संघ विधि, विधान र संस्थागत प्रक्रियाअनुसार पूर्ण रूपमा सञ्चालन भइरहेको छ। “२/४ जनाको कोठे बैठकले हल्ला गर्दैमा संस्थाको आधिकारिक धारणा परिवर्तन हुँदैन,” उनले भने, “कार्यसमितिको स्पष्ट बहुमत हाम्रो पक्षमा छ, त्यसैले यस्ता गतिविधिले संगठनलाई कुनै असर पार्दैन।”
गुरुङले आफ्नो नेतृत्व सधैं वैदेशिक रोजगार व्यवसायीहरूको हक–हित संरक्षण, व्यवसायको मर्यादा कायम राख्ने र पारदर्शी प्रणाली विकासतर्फ केन्द्रित रहेको उल्लेख गरे। “व्यवसायीको हित, अधिकार र सम्मान सुरक्षित गर्नु नै मेरो पहिलो प्राथमिकता हो,” उनले भने, “मेरो कार्यकालभर यही प्रतिबद्धतासहित काम गरिरहनेछु।”
उनले बजारमा सुनियोजित रूपमा फैलाइएका भ्रम र गलत सूचनाले व्यवसायीहरूलाई अन्योलमा पार्ने प्रयास भइरहेको उल्लेख गर्दै तथ्य र आधिकारिक धारणा मात्रै विश्वास गर्न आग्रह गरे। “हल्ला र अफवाहले यथार्थ बदल्दैन,” गुरुङले भने, “सबैलाई सही सूचना र संस्थागत निर्णयलाई आधार मानेर अघि बढ्न अनुरोध गर्दछु।”
संघको मर्मविपरीत गतिविधि गर्ने, संगठनविरुद्ध जाने र जानाजानी भ्रम फैलाउने व्यक्तिहरूमाथि आवश्यक कारबाही गरिने चेतावनीसमेत उनले दिएका छन्। “व्यक्तिगत स्वार्थका लागि संगठन कमजोर पार्ने प्रयास कदापि सह्य हुँदैन,” उनको भनाइ छ।
यसैबीच लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका सभापति
दिपक थापाले केही सीमित व्यक्तिले फैलाएको भ्रमको कुनै अर्थ नरहेको बताएका छन्। “२/४ जनाले हल्ला गर्दैमा सम्पूर्ण व्यवसायी प्रभावित हुँदैनन्,” उनले भने, “हाम्रो संस्थाबाट निर्वाचित भएर गएका केही व्यक्तिहरू नै यस्तो गतिविधिमा संलग्न देखिएकाले आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।”
थापाले व्यवसायीहरूलाई भ्रामक सूचनाबाट टाढा रहन र संस्थागत अनुशासन तथा एकता कायम राख्न आग्रह गरे। अहिलेको समयमा अनावश्यक विवाद सिर्जना गरिनु ब्याबसाय सकाउने खेल भएकाले सचेत रहन थापाले आग्रह गरे ।
सरोकारवालाहरूका अनुसार वैदेशिक रोजगार जस्तो संवेदनशील क्षेत्रमा यस्ता अफवाह र विवादले समग्र वातावरणमा नकारात्मक असर पार्ने जोखिम हुन्छ। त्यसैले आधिकारिक सूचना, तथ्य र संस्थागत निर्णयलाई आधार मानेर मूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
अध्यक्ष गुरुङले मेनपावर ब्याबसायीलाई स्पष्ट सन्देश दिँदै भने, “गलत भरममा नपर्नुहोस्, हामी सधैं व्यवसायीको हक–हितका लागि लडिरहेका छौं र आगामी दिनमा पनि यही प्रतिबद्धता कायम रहनेछ।”
अहिलेको समयमा अनावश्यक विवाद सिर्जना गरिनु ब्याबसाय सकाउने खेल भएकाले सचेत रहन अध्यक्ष गुरुङले सबै ब्याबसायीलाई अनुरोध गरेका छन ।