काठमाडौं, पश्चिम एसियामा विकसित असहज परिस्थितिका कारण अस्थायी रूपमा रोकिएको वैदेशिक रोजगारी प्रक्रिया अब पुनः सुचारु हुने भएको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको सूचनाअनुसार साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमानलगायत खाडीका प्रमुख श्रम गन्तव्य मुलुकमा श्रम स्वीकृति पुनः खुला गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयअनुसार यसअघि रोकिन पुगेका सबै प्रकारका श्रम स्वीकृति व्यक्तिगत, संस्थागत तथा कागजात वैधानिकीकरण प्रक्रिया अब पुनः सञ्चालनमा ल्याइएको हो। यससँगै वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको प्रक्रिया फेरि नियमित हुने भएको छ।
विभागका अनुसार पश्चिम एसियाको बदलिँदो अवस्थालाई मध्यनजर गर्दै सरकारले जोखिम मूल्यांकनपछि यस्तो निर्णय लिएको हो। यद्यपि, इराकको हकमा भने नेपाल सरकारको अघिल्लो निर्णयअनुसार गरिएको छ।
यस निर्णयसँगै दूतावासमार्फत मागपत्र प्रमाणीकरण (Demand Letter Attestation) लगायत प्रक्रिया समेत अघि बढ्नेछ भने मेनपावर व्यवसायी र वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका हजारौं युवालाई राहत पुग्ने अपेक्षा गरिएको छ।
सरकारले अब सम्बन्धित निकायहरूलाई समन्वय गरेर वैदेशिक रोजगारी प्रक्रिया सहज, सुरक्षित र व्यवस्थित बनाउन निर्देशन दिएको छ।
सरकारको उक्त निर्णयको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङले स्वागत गरेका छन ।
उनले संघको अनुरोधलाई सरकारले सम्बोधन गरेकोमा गुरुङले धन्यवाद ब्यक्त गरे । संघले श्रम स्वीकृत खुलाउन धेरै पहल गरेको थियो ।