शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

विवादबीच गृहमन्त्री सुदन गुरुङको स्पष्टीकरण: “हल्ला होइन, प्रमाणमा उभिन तयार”

सोमबार, बैशाख ७ २०८३

काठमाडौं,गृहमन्त्री सुदन गुरुङ आफूमाथि पछिल्ला दिनमा उठेका विभिन्न आरोप र विवादबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिँदै सबै कारोबार पारदर्शी र बैंकिङ प्रणालीभित्रै भएको दाबी गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री गुरुङले “२५ लाखको सेयर लुकाइएको” भन्ने आरोपलाई अस्वीकार गरे। उनले आफूले २ करोडभन्दा बढीको लगानी सम्पत्ति विवरणमै उल्लेख गरिसकेको भन्दै स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि सोही विवरणअन्तर्गत समेटिएको स्पष्ट पारे।
उनका अनुसार सेयर लगानीलाई लुकाइएको नभई वर्गीकरणको विषयलाई गलत रूपमा प्रस्तुत गरिएको हो। “लुकाउने व्यक्ति खुला रूपमा करोडौँको सम्पत्ति देखाउँदैन,” उनले भनेका छन्।
मन्त्री गुरुङले आफ्नो सम्पूर्ण आर्थिक कारोबार बैंकिङ च्यानलमार्फत भएको दाबी गर्दै लगानीको स्रोत समेत स्पष्ट रहेको बताए। उनका अनुसार लगानीका लागि लिएको ऋणको तमसुक २०८०/०५/२९ मै तयार भइसकेको छ र त्यससम्बन्धी सम्पूर्ण विवरण बैंक रेकर्डमा सुरक्षित छ।
विवादित व्यक्तिसँग साझेदारी गरेको आरोपबारे उनले सेयर बजारको संरचना बुझ्न आग्रह गरेका छन्। एउटै कम्पनीमा हजारौँ सेयरधनी हुने भएकाले सेयर किनेकै आधारमा कसैसँग प्रत्यक्ष साझेदारी जोड्नु तर्कसंगत नहुने उनको भनाइ छ।
त्यस्तै ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ सम्बन्धी प्रश्नमा उनले छानबिनको जिम्मा सम्पत्ति शुद्धिकरण विभाग अन्तर्गत रहेको स्पष्ट पार्दै प्रक्रिया स्वतन्त्र रूपमा अगाडि बढिरहेको बताए। “यदि प्रभाव पारिएको भए छानबिन नै अघि बढ्ने थिएन,” उनको तर्क छ।
मन्त्री गुरुङले लगानीमा जोखिम स्वाभाविक हुने उल्लेख गर्दै पछि भएका घटनालाई अघिल्लो निर्णयसँग जोडेर दोषारोपण गर्नु अनुचित हुने बताए। साथै, कानुनी रूपमा संवेदनशील विषयमा तत्काल प्रतिक्रिया नदिनुलाई कमजोरीका रूपमा व्याख्या गर्नु पनि गलत रहेको उनको भनाइ छ।
राजनीतिक टिप्पणीप्रति प्रतिक्रिया दिँदै उनले व्यक्तिगत लगानी र बिचौलियापन फरक विषय भएको उल्लेख गरे। “राजनीति गर्न सजिलो हुन्छ, तर सत्य त्यति सरल हुँदैन,” उनले भने।
अन्त्यमा उनले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पार्टीले गर्ने निर्णय स्वीकार गर्ने बताएका छन्। “निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ,” भन्दै उनले हल्लाभन्दा तथ्य र प्रमाणको आधारमा मूल्यांकन गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार