सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

देउवाको बहिर्गमन, पार्टी सत्तामा गगन थापा स्थापित

आइतबार, बैशाख ६ २०८३

काठमाडौँ । नेपाली राजनीतिका खेलाडी शेरबहादुर देउवाको अन्तत: पार्टी सत्ताबाट बहिर्गमन भएको छ । यससँगै नेपाली कांग्रेसको बागडोर औपचारिक र कानुनी रूपमा युवा नेता गगन थापाको हातमा पुगेको छ ।

करिब तीन महिना लामो कानुनी र ६ महिना लामो राजनीतिक खिचातानीलाई बिट मार्दै सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई पूर्ण वैधानिकता दिएसँगै कांग्रेसभित्र नयाँ अध्यायको सुरुवात भएको छ ।
सर्वोच्च अदालतले शुक्रबार देउवा र अर्का नेता पूर्णबहादुर खड्काले दायर गरेको रिट निवेदन खारेज गर्दै गगन थापा नेतृत्वको विशेष महाधिवेशनलाई कानुनसम्मत ठहर्‍याएको हो । देउवा पक्षका विश्वासपात्र मानिने खड्काले विशेष महाधिवेशन बदरको माग गर्दै अदालतमा चुनौती दिएका थिए । तर, तीन महिना लामो बहस र कानुनी परीक्षणपछि अदालतले देउवा पक्षको दाबीलाई अस्वीकार गरिदिएको छ । यस फैसलासँगै पार्टीको सर्वोच्च पदमा गगन थापाको स्थापित हुनु केवल एउटा व्यक्तिको उदय मात्र नभई कांग्रेसभित्रको शक्ति सन्तुलनमा आएको महाभूकम्प साबित भएको छ ।
अदालतले गगन थापाको नेतृत्वलाई ६ वटा मुख्य आधार देखाउँदै वैधानिकता प्रदान गरेको छ । पहिलो आधारका रूपमा पार्टीको १५ औँ महाधिवेशन समयमै हुन नसक्ने बाध्यात्मक अवस्थालाई औँल्याइएको छ । नियमित महाधिवेशनको अनिश्चितताका बीच विधानको धारा १७ (२) बमोजिम बोलाइएको विशेष महाधिवेशनलाई ‘निष्क्रिय’ मान्न नमिल्ने अदालतको ठहर छ । त्यसैगरी, निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ बमोजिम विशेष महाधिवेशनका निर्णयहरू र कार्यसमिति हेरफेरलाई अद्यावधिक गरिसकेकाले यसलाई त्रुटिपूर्ण भन्न नसकिने फैसलामा उल्लेख छ ।
अदालतले गगन थापाको नेतृत्वलाई स्वीकार गर्नुको अर्को रोचक र बलियो आधार राजनीतिक वैधता हो । २०८२ फागुनमा सम्पन्न संघीय संसद्को निर्वाचनमा गगन थापाकै हस्ताक्षरबाट उम्मेदवारहरूको मनोनयन भएको र निर्वाचन सम्पन्न भइसकेको तथ्यलाई अदालतले बिर्सन नमिल्ने सारभूत परिवर्तनको रूपमा लिएको छ । निर्वाचन प्रक्रिया नै सम्पन्न भइसकेको अवस्थामा पछि आएर महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउनुको औचित्य समाप्त भइसकेको अदालतको तर्क छ । साथै, विधान बमोजिम प्रक्रिया अगाडि बढिरहँदा निवेदकहरू आफैँ उदासीन रहेको र अन्तिम समयमा विरोधमा आउनु पर्याप्त आधार नभएको भन्दै अदालतले देउवा पक्षको मागलाई खारेज गरिदिएको हो ।
फैसलापछि देउवा पक्षले रक्षात्मक प्रतिक्रिया दिएको छ । शनिबार बसेको देउवा पक्षीय नेताहरूको अनौपचारिक बैठकले अदालतको आदेशलाई शिरोधार्य गर्ने निर्णय गरेको छ । बैठकपछि देउवा पक्षका नेता मीन विश्वकर्माले पार्टीभित्रको कानुनी लडाइँ अब समाप्त भएको घोषणा गरे । उनले यस स्थितिलाई फुटबलको खेलसँग तुलना गर्दै रोचक टिप्पणी गरे । विश्वकर्माका अनुसार हिजोसम्म पार्टी सत्ताको ‘बल’ शेरबहादुर देउवाको खुट्टामा थियो, तर सर्वोच्च अदालतले त्यो बल अब गगन थापाको खुट्टामा फालिदिएको छ । अब गोल गर्ने र पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने सम्पूर्ण जिम्मेवारी र खुबीको परीक्षण गगन थापाकै हुने उनको भनाइ थियो ।
देउवा पक्षले हालसम्म पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति मानेर गतिविधि गरिरहेको सो पक्षले अब खड्कालाई निर्वतमान कार्यवाहकको दर्जामा सीमित गरेको छ । नेता विश्वकर्माले भने, ‘हामी विधिको शासन मान्ने पार्टी हौँ, हिजोसम्म हाम्रा लागि खड्का कार्यवाहक हुनुहुन्थ्यो, अबदेखि उहाँ निर्वतमान हुनुभयो । हामी अदालतको आदेशलाई पूर्ण रूपमा पालना गर्छौँ ।’ यद्यपि, फैसलामा उल्लेखित कतिपय प्राविधिक बुँदाहरूमा आफूहरूको असहमति रहे पनि अब पार्टीलाई भावनात्मक रूपमा जोड्न र नयाँ नेतृत्वसँग सहकार्य गर्न आफूहरू तयार रहेको सङ्केत देउवा पक्षले दिएको छ ।
उता, पार्टीको आधिकारिक सभापतिका रूपमा स्थापित भएका गगन थापाले यस उपलब्धिलाई व्यक्तिको जितका रूपमा नभई लोकतान्त्रिक अभ्यासको जितका रूपमा व्याख्या गरेका छन् । शनिबार आफ्नो धारणा सार्वजनिक गर्दै थापाले यस घडीमा कसैले पनि हार वा जितको मानसिकता राख्न नहुने बताए । उनले अबको यात्रा पार्टीलाई पुनर्जागृत गर्ने र सुदृढीकरण गर्ने साझा यात्रा भएको उल्लेख गर्दै देश–विदेशमा रहेका सम्पूर्ण कार्यकर्तालाई सकारात्मक भूमिकाका लागि अपिल गरे ।
सभापति थापाले पार्टी नेतृत्वको हैसियतले अब एकता प्रक्रियामा आफ्नो भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने स्वीकार गरेका छन् । ‘पार्टी सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु,’ थापाको भनाइ छ । उहाँले १५ औँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै यसलाई कांग्रेसको समग्र रूपान्तरणको कडी बनाउनुपर्नेमा जोड दिएका छन् । नयाँ पुस्ताको आकाङ्क्षा र अग्रजहरूको योगदानलाई समायोजन गर्दै समुन्नत नेपाल निर्माणमा कांग्रेसले अग्रणी भूमिका खेल्नुपर्ने उनको दृढता छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार