काठमाडौं, वैदेशिक रोजगारीसँग सम्बन्धित विज्ञापनमा अब अनिवार्य रूपमा आधिकारिक सम्पर्क विवरण उल्लेख गर्नुपर्ने भएको छ। वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूलाई यस्तो निर्देशन जारी गर्दै पारदर्शिता र उत्तरदायित्व बढाउने प्रयास गरेको जनाएको छ।
विभागका अनुसार वैदेशिक रोजगारीका लागि श्रमिक माग गर्ने इजाजतपत्र प्राप्त संस्थाहरूले राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशित गर्दा आधिकारिक सम्पर्क व्यक्तिको नाम, फोन नम्बर र सम्पर्क स्थान स्पष्ट रूपमा खुलाउनुपर्नेछ। पछिल्लो समय प्रकाशित कतिपय विज्ञापनमा यी विवरण नहुँदा वैदेशिक रोजगारीका इच्छुक व्यक्तिहरूले सम्पर्क गर्न कठिनाइ भोग्नुपरेको गुनासो बढेको थियो।
यस्तै, विभागले मागपत्रका लागि पूर्व स्वीकृति लिँदा पनि सम्पर्क व्यक्तिको नाम, नम्बर र ठेगाना अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने प्रावधान रहेको पुनः स्पष्ट पारेको छ। निर्देशनको पालना नगर्ने संस्थाहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ।
यस कदमले वैदेशिक रोजगारी प्रक्रियालाई अझ व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउने अपेक्षा गरिएको छ।