काठमाडौं,वैदेशिक रोजगारसँग जोडिएको मुद्दामा घुसखोरी गर्दै आएका एक सरकारी कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ।
वैदेशिक रोजगार विभाग, ताहाचलस्थित अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत नायब सुब्बा हेम बहादुर मस्राङगीले सेवाग्राहीसँग मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने नाममा घुस माग्दै आएको उजुरीपछि अख्तियार सक्रिय भएको हो।
सूचनाको आधारमा खटिएको टोलीले मस्राङगीलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको छ। पक्राउका क्रममा उनको साथबाट स्रोत नखुलेको थप ७७ हजार ६ सय रुपैयाँ समेत बरामद गरिएको छ।
यसरी कुल ९२ हजार ६ सय रुपैयाँ नगद र तीन थान मोबाइलसहित उनलाई कार्यालय परिसरबाटै पक्राउ गरिएको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। आयोगले सार्वजनिक सेवामा हुने भ्रष्टाचारविरुद्ध निगरानी र कारबाही अझ कडाइका साथ अगाडि बढाइने स्पष्ट संकेत दिएको छ।
वैदेशिक रोजगारजस्तो संवेदनशील क्षेत्रमा नै कर्मचारीबाट घुस असुली हुनु गम्भीर विषय भएको भन्दै यस घटनाले फेरि एकपटक राज्य संयन्त्रभित्रको विकृति उजागर गरेको छ। वैदेशिक रोजगार विभाग,यातायात ब्यबस्था विभाग,मालपोत विभाग,नापी विभाग र राजस्व कार्यालयहरुमा नयाँ सरकार आएपछी पनि खुलेआम घुस खाईरहेका छन । पहिला अफिस या अफिसकै आसपास गरिने कारोवार अहिले रेस्टुरेन्ट या घरबाटै गर्ने गरेका छन कर्मचारीहरुले ।