काठमाडौँ ,प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को औपचारिक सिफारिसपछि प्रधानमन्त्रीले उक्त निर्णय लिएका हुन् ।पार्टी स्रोतका अनुसार मन्त्री साहमाथि पदीय मर्यादा उल्लङ्घन गरेको गम्भीर आरोप लागेको थियो । विशेषगरी, मन्त्री पदको दुरुपयोग गर्दै आफ्नै श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्त गराउने प्रयास गरेको विषय पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट पुष्टि भएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो ।रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई पठाएको पत्रमा पार्टीको छवि, सिद्धान्त र मर्यादामा आँच पुग्ने गतिविधि भएको निष्कर्ष निकाल्दै तत्काल मन्त्रीलाई जिम्मेवारीबाट फिर्ता बोलाउन सिफारिस गरिएको उल्लेख छ । पार्टी विधानअनुसार पदको दुरुपयोग भएको ठहरिएमा ‘राइट टु रिकॉल’ प्रयोग गर्न सकिने प्रावधान अनुसार उक्त कदम चालिएको हो ।उक्त प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई समेत आवश्यक सचेत गराउन सिफारिस गरिएको छ । यस घटनाले सरकारभित्र आन्तरिक अनुशासन र नैतिकताको प्रश्न पुनः सतहमा ल्याएको छ ।