शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

श्रममन्त्री दीपककुमार साह हटाउने तयारीमा प्रधानमन्त्री बालेन शाह

बिहिबार, चैत्र २६ २०८२

काठमाडौं,बालेन्द्र शाह नेतृत्वको सरकारभित्रै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा नेतृत्व परिवर्तनको तयारी तीव्र बनेको छ। प्रधानमन्त्री शाहले वर्तमान श्रममन्त्री दीपककुमार साह लाई पदबाट हटाउने अन्तिम निर्णयतर्फ अघि बढेको उच्च स्रोतले जनाएको छ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मन्त्री साहको कार्यशैली र मन्त्रालय सञ्चालनप्रति प्रधानमन्त्री असन्तुष्ट बनेपछि हटाउने निष्कर्षमा पुगेका हुन्। “श्रम मन्त्रालयमा नयाँ अनुहार ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ,” स्रोतको भनाइ छ।
महोत्तरी–२ बाट निर्वाचित साह १३ चैतमा मात्रै मन्त्रीमा नियुक्त भएका थिए। करिब दुई सातामै उनको पद धरापमा परेको हो। छोटो अवधिमा केही सुधारका पहल थाले पनि ती प्रयासले अपेक्षित नतिजा दिन नसकेको निष्कर्ष प्रधानमन्त्री पक्षको रहेको बताइन्छ।
मन्त्रीका रूपमा उनले केही महत्वाकांक्षी निर्णयहरू अघि सारेका थिए। स्वास्थ्य क्षेत्रमा देखिएको सिण्डिकेट तोड्ने प्रयास, तालिमप्राप्त कामदारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने योजना, फ्रि भिसा–फ्रि टिकट कार्यान्वयनका लागि विमानस्थलमै कडाइ गर्ने तयारी लगायतका कदम उनले अघि बढाएका थिए। साथै, वैदेशिक रोजगारीमा ठगीमा परेका कामदारका लागि अनलाइन उजुरी प्रणाली र न्यूनतम तलब निर्धारणको तयारी पनि उनको प्राथमिकतामा थियो।
तर, सामान्य विवादमा तानिनुका साथै विगतसम्बन्धी केही विषयहरू पुनः सतहमा आएपछि उनको राजनीतिक भविष्य अस्थिर बनेको स्रोतको दाबी छ। यही पृष्ठभूमिमा प्रधानमन्त्री शाहले श्रम मन्त्रालयमा नयाँ नेतृत्व ल्याउने निर्णय लिएका हुन्।
सरकारले औपचारिक रूपमा निर्णय सार्वजनिक गर्न बाँकी रहे पनि मन्त्री परिवर्तन अब केही घण्टाको विषय मात्र भएको स्रोतको दाबी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार