काठमाडौँ(जस)–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयमा कार्यरत अभिकर्ताहरूलाई लक्षित गर्दै एकदिने तालिम कार्यक्रम आयोजना गरेको छ । कम्पनीले ‘मन्थन २०८२’ मासिक योजना अन्तर्गत छनोट गरिएका अभिकर्ताहरूलाई सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका शाखाबाट सहभागी गराई तालिम सञ्चालन गरेको हो ।
महेन्द्रनगरको शुक्लाफाँटा क्षेत्रमा आयोजित कार्यक्रममा करिब १६० जना अभिकर्ताको सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय प्रशिक्षक सयद अफजल अहमदले बीमा क्षेत्रमा उत्कृष्टता हासिल गर्ने उपायबारे विभिन्न उदाहरणसहित प्रशिक्षण दिएका थिए । कार्यक्रमको उद्घाटन कम्पनीका सहायक महाप्रबन्धक विवेक शर्माले गरेका थिए भने सुदूरपश्चिम प्रदेश प्रमुख नवीन किशोर भट्टले सहभागीहरूलाई स्वागत गरेका थिए ।
एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले कम्पनीले अभिकर्ताको क्षमता विकासका लागि विभिन्न योजना मार्फत तालिम सञ्चालन गर्दै आएको जानकारी दिए । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरूलाई सम्मानसमेत गरिएको थियो । सहभागीहरूले अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकबाट सिक्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरेका थिए ।