काठमाडौं,नेपाल उद्योग वाणिज्य महासंघ को आगामी चैत २९ र ३० गते हुने निर्वाचनका लागि एशोसिएट्सतर्फ उपाध्यक्ष पदमा ज्योत्स्ना श्रेष्ठ नेतृत्वको समूहले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको छ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रस्तावित वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल निकट समूहबाट एशोसिएट्सतर्फ उपाध्यक्षमा श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गराएको हो।
उक्त समूहबाट सदस्य पदमा डा. अम्बिका शर्मा लामिछाने ,
डा. रामशरण थपलिया, अविनास बोहोरा, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्दु बस्नेत (अजित), गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, राजकुमार तिमलसिना, सोभा ज्ञवाली, सन्दिप अग्रवाल (माखरिया), शैलेन्द्र गुरागाई, सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, ई. विनोद ढकाल र चन्द्र ढकाल (काभ्रे) ले पनि उम्मेदवारी दर्ता गराएकी छन्।
विशेषगरी बैंकिङ, लगानी र उद्यमशीलता क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव संगालेकी लामिछानेको उम्मेदवारीलाई एशोसिएट सदस्यतर्फ महत्वपूर्ण रूपमा हेरिएको छ। वित्त कम्पनी, विकास बैंक, मर्चेन्ट बैंकिङ तथा इम्प्याक्ट इन्भेस्टमेन्ट क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरिसकेकी उनी निजी क्षेत्रका चुनौतीहरूसँग प्रत्यक्ष रूपमा परिचित पात्रका रूपमा चिनिन्छिन्।
लामिछानेले वित्तीय पहुँच विस्तार, पूँजी बजार सुदृढीकरण, महिला उद्यमी सशक्तीकरण तथा रेमिटेन्सलाई उत्पादनमुखी क्षेत्रमा जोड्ने एजेन्डालाई प्राथमिकतामा राख्दै उम्मेदवारी दिएकी छन ।
उनको भनाइमा, “निजी क्षेत्रलाई अझ प्रतिस्पर्धी, समावेशी र सशक्त बनाउन नीतिगत सुधार र वित्तीय पहुँच सहज बनाउनु अत्यावश्यक छ।”
एफएनसीसीआईको आगामी निर्वाचनलाई निजी क्षेत्रको नेतृत्व चयनसँगै नीतिगत दिशानिर्देशनका हिसाबले समेत महत्वपूर्ण रूपमा हेरिएको छ। यस्तो अवस्थामा अनुभवी र नीतिगत समझ भएका उम्मेदवारको उपस्थिति निर्णायक बन्ने भएकाले अम्बिकाको जित सुनिश्चित रहेको ब्याबसायीहरु बताउछन ।