काठमाडौं ,रामचन्द्र पौडेलले विश्वभर छरिएर रहेका नेपालीहरूलाई नेपालमा लगानी बढाउन आह्वान गर्नुभएको छ। स्वदेशको अपार सम्भावनालाई उपयोग गर्दै आर्थिक विकासलाई तीव्रता दिन र विदेशमा रहेका लगानीकर्ताहरूलाई समेत नेपालतर्फ आकर्षित गर्न उहाँले जोड दिनुभएको हो।
सोमबार शीतल निवासमा गैर आवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरूसँग भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको अन्तर्राष्ट्रिय प्रतिष्ठा मजबुत हुन नसक्ने स्पष्ट पार्नुभयो। “देशभित्र आर्थिक सशक्तिकरण र तीव्र विकास भए मात्र विदेशमा रहेका नेपालीहरूको शिर उँचो हुन्छ,” उहाँको भनाइ थियो।
राष्ट्रपतिले जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रहरूमा लगानीको विशाल सम्भावना रहेको उल्लेख गर्दै नेपालले आफ्नो भौगोलिक अवस्थाको लाभ उठाउनुपर्नेमा जोड दिनुभयो। भारत र चीनजस्ता ठूला बजार नजिकै रहनु नेपालका लागि रणनीतिक अवसर भएको उहाँको विश्लेषण थियो।
बहुपक्षीय सहकार्य अपरिहार्य रहेको औंल्याउँदै उहाँले गैरआवासीय नेपालीहरूले आर्जेको पूँजी, सीप, अनुभव र उद्यमशीलतालाई नेपालको विकाससँग जोड्न आग्रह गर्नुभयो। “तपाईंहरूको ज्ञान र लगानी नेपालका लागि अत्यन्तै सान्दर्भिक र उपयोगी बन्न सक्छ,” उहाँले भन्नुभयो।
राष्ट्रपतिले विगतमा एनआरएनएमार्फत भएका लगानी र योगदानले देशको विकासमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्न आग्रह गर्नुभयो। साथै, हालैको निर्वाचनले मुलुकलाई जटिल अवस्थाबाट निकास दिएको उल्लेख गर्दै अब सुशासन, सामाजिक न्याय र समृद्धितर्फ केन्द्रित हुनुपर्ने जनादेश आएको बताउनुभयो।
संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्य, मान्यता र सिद्धान्तलाई व्यवहारमा उतार्न नसकेसम्म अपेक्षित समृद्धि हासिल गर्न कठिन हुने धारणा राख्दै उहाँले राज्यको संरचनामात्र होइन, चरित्र र कार्यशैलीमा पनि रूपान्तरण आवश्यक रहेको स्पष्ट पार्नुभयो।
यसैबीच, भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गुरुयोजना अघि बढाइएको जानकारी दिँदै त्यसमा एनआरएनएको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।
भेटमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष हेमराज शर्माले संघका गतिविधि, भावी योजना तथा नेपालमा भइरहेको र सम्भावित लगानीबारे जानकारी गराउनुभएको थियो। साथै, दोस्रो पुस्तालाई एनआरएनए अभियानसँग जोड्ने रणनीतिमा पनि संघले विशेष ध्यान दिएको उहाँले बताउनुभयो।
राष्ट्रपतिले नव-निर्वाचित सम्पूर्ण नेतृत्वलाई बधाई दिँदै विश्वभर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै एनआरएनएलाई सबैको साझा संस्थाका रूपमा स्थापित गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो।