शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

वैदेशिक रोजगार ठगीविरुद्ध कडाइ : ३५२ को सूची सार्वजनिक, नयाँ सरकारपछि वैदेशिक रोजगार विभाग सक्रिय

शनिबार, चैत्र २१ २०८२

काठमाडौं ,वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने ३५२ जनाको नाम सार्वजनिक गर्दै कारबाही प्रक्रिया अघि बढाएको छ। विभागले शुक्रबार उक्त सूची सार्वजनिक गरेको हो।
विभागका अनुसार फागुन १७ देखि चैत १७ गतेसम्म दर्ता भएका उजुरीका आधारमा अनुसन्धान गरी सूची तयार गरिएको हो। उजुरीमा उल्लेख भएअनुसार ती व्यक्तिहरूले ५३ देशमा रोजगारी दिलाउने प्रलोभन देखाउँदै सर्वसाधारणबाट रकम असुलेको पाइएको छ।
लोभलालचमा परेर धेरैले यस्ता एजेन्ट तथा दलालप्रति विश्वास गर्दा एक महिनाभित्रै ठूलो सङ्ख्यामा मुद्दा दर्ता भएको विभागले जनाएको छ। साथै, उजुरी नपुगेका घटनासमेत उल्लेख्य संख्यामा हुन सक्ने अनुमान गरिएको छ, जसले वैदेशिक रोजगार क्षेत्रमा ठगीको जाल अझै गहिरो रहेको संकेत गर्छ।
नयाँ सरकार गठन र श्रम नेतृत्वमा परिवर्तनसँगै लामो समयदेखि भ्रष्टाचारको अखडाका रूपमा आलोचित रहँदै आएको विभागले पछिल्लो समय आफ्नो कार्यशैलीमा सुधार ल्याउँदै सक्रियता देखाउन थालेको छ। ठगीविरुद्ध सूची सार्वजनिक गर्नु, उजुरी प्रक्रियालाई तीव्र बनाउनु र दोषीमाथि कारबाही अगाडि बढाउनु यसैको संकेतका रूपमा हेरिएको छ।
विभागले सबै नागरिकलाई आकर्षक तलब, छिटो प्रक्रिया र सजिलो भिसाको नाममा गरिने प्रलोभनमा नपर्न आग्रह गर्दै वैदेशिक रोजगारीका लागि जानुअघि आधिकारिक निकायबाट अनिवार्य जानकारी लिन पनि अनुरोध गरेको छ।
वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन राज्यको कडाइसँगै नागरिकको सचेतना पनि उत्तिकै आवश्यक देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार