शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा हुँने

शुक्रबार, चैत्र २० २०८२

काठमाडौ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद (डिपी) अर्याल प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्। संघीय संसद् सचिवालयले तोकेको समयभित्र अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्।
सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको उम्मेदवारी दर्ता अवधिमा अर्यालको मात्र मनोनयन परेको थियो। रास्वपाका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक रहेका थिए भने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल समर्थकका रूपमा रहेका थिए।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको १८२ सिटको स्पष्ट बहुमत रहेकाले अर्यालको निर्वाचित हुनु औपचारिकतामै सीमित भएको थियो। संसदभित्रको शक्ति सन्तुलनका आधारमा अन्य कुनै दलले उम्मेदवारी नदिएपछि सभामुख पदमा उनको एकल दाबी कायम रह्यो।
नवनिर्वाचित सभामुख अर्याललाई आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाट औपचारिक रूपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ। यससँगै प्रतिनिधिसभाले नयाँ नेतृत्व पाउने भएको छ, जसले आगामी संसदीय गतिविधि र विधेयक प्रक्रियामा निर्णायक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
रास्वपाको बहुमतसँगै सभामुखमा आफ्नै उम्मेदवार चयन गर्न सफल भएको पार्टीले अब संसद सञ्चालनलाई प्रभावकारी बनाउने दाबी गरेको छ। अर्यालको नेतृत्वमा संसदमा विधेयक पारित प्रक्रिया, सरकारको जवाफदेहिता र संसदीय अनुशासनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार