काठमाडौं,गैर आवासीय नेपाली संघ एनआरएन आईसीसीको उपमहासचिवमा साउदी अरेबियाबाट सक्रिय अभियन्ता राजेन्द्र अर्याल निर्वाचित भएका छन । उनले प्रवासमा रहेका नेपाली श्रमिकहरूसँग प्रत्यक्ष सहकार्य गर्दै उनीहरूको हकहित संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन ।
एनआरएनएको १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने क्रममा अर्याल उपमहासचिव पदमा निर्विरोध निर्वाचित भएका हुन । लामो समयदेखि मध्यपूर्वमा श्रमिक समुदायसँग नजिक रहेर काम गर्दै आएका उनले आफ्नो जितलाई “श्रमिकको आवाजको प्रतिनिधित्व” का रूपमा लिएको बताएका छन्।
निर्वाचनपछि प्रतिक्रिया दिँदै अर्यालले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको समस्या समाधान, श्रमिकमैत्री नीति निर्माण र आपतकालीन उद्धार तथा राहत प्रणालीलाई प्रभावकारी बनाउने आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गरे । उनले विशेषगरी वैदेशिक रोजगार ऐन २०६४ को प्रभावकारी कार्यान्वयन, श्रमिकहरूको अधिकार सुनिश्चितता र उनीहरूको आम्दानीलाई सुरक्षित तथा उत्पादनमुखी क्षेत्रमा लगानी गर्न वातावरण सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राख्ने बताए।
करिब डेढ दशकदेखि एनआरएनए अभियानमा सक्रिय अर्याल हाल मध्यपूर्व क्षेत्रीय संयोजकको जिम्मेवारी सम्हाल्दै आएका थिए। साधारण सदस्यबाट सुरु भएको उनको यात्रा अन्तर्राष्ट्रिय तहसम्म पुगेको हो। संगठनभित्र शान्त, संयमित र परिणाममुखी कार्यशैलीका कारण उनी “कम बोल्ने तर बढी काम गर्ने” अभियन्ताका रूपमा परिचित छन ।
अर्यालले एनआरएनएभित्र देखिएका आन्तरिक विवाद, संगठनात्मक असमझदारी र संरचनागत चुनौतीलाई समाधान गर्दै संस्थालाई पुनः एकताबद्ध र प्रभावकारी बनाउने आफ्नो अर्को प्रमुख लक्ष्य रहेको बताए। साथै, विभिन्न देशमा रहेका दूतावास, एनसीसी र आईसीसीबीच समन्वय सुदृढ गर्दै प्रवासी नेपालीको साझा एजेन्डालाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउने उनको योजना छ।
“प्रवासमा रहेका श्रमिकको पीडा, अनुभव र अपेक्षालाई नजिकबाट बुझेको नेतृत्व आवश्यक छ,” उनले भने, “त्यसैले श्रमिकसँगै सहकार्य गर्दै व्यवहारिक र परिणाममुखी काम गर्ने मेरो प्रतिबद्धता हो।”
विश्वभर रहेका एनआरएन अभियन्ता, अग्रज तथा शुभेच्छुकसँग सहकार्य र समर्थनको अपिल गर्दै अर्यालले आफ्नो कार्यकाललाई श्रमिक–केन्द्रित, पारदर्शी र उत्तरदायी बनाउने प्रतिवद्धता दोहोर्याएका छन्।