काठमाडौं , नवगठित सरकारको पहिलो निर्णयसँगै काठमाडौँ उपत्यकामा सुरक्षा सतर्कता उच्च स्तरमा पुर्याइएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले संवेदनशील विषयमा कदम चालेपछि सम्भावित राजनीतिक तथा सामाजिक प्रभावलाई मध्यनजर गर्दै सुरक्षा निकायहरू सक्रिय भएका हुन्।
गृह प्रशासन सम्हालेका गृहमन्त्री सुधन गुरुङले तत्कालै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूसँग आकस्मिक बैठक बोलाएर सुरक्षा चुनौतीको समग्र मूल्याङ्कन र छलफल गरेका छन्। बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल सहभागी भएका थिए।
सरकारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै त्यसको प्रभावस्वरूप देशभर, विशेषगरी उपत्यकामा विरोध प्रदर्शन र असन्तुष्टि बढ्न सक्ने आकलन गरिएको छ। यही जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायहरूले ‘हाई अलर्ट’ घोषणा गर्दै मातहतका सबै युनिटलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
स्रोतका अनुसार उपत्यकाभरका सुरक्षा निकायलाई ‘स्ट्यान्डबाइ’ राखिएको छ भने संवेदनशील क्षेत्रहरूमा निगरानी बढाइएको छ। सम्भावित भीड नियन्त्रण, विरोध प्रदर्शन व्यवस्थापन र शान्ति सुरक्षाको अवस्था सुदृढ राख्न विशेष रणनीति अपनाइएको जनाइएको छ।
सरकारको निर्णयपछि उत्पन्न हुन सक्ने परिस्थितिलाई नियन्त्रणमा राख्न सुरक्षा संयन्त्रले समन्वयात्मक ढंगले काम अघि बढाएको छ। आगामी दिनमा राजनीतिक गतिविधि र जनप्रतिक्रियालाई ध्यानमा राख्दै सुरक्षा रणनीति थप परिमार्जन गरिने संकेत समेत अधिकारीहरूले दिएका छन्। उनीहरुले सबै तहका प्रहरीहरु स्ट्यान्डबाई अवस्थामा रहेको जानकारी दिएका छन ।