रामजी बगाले,देशको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु भएको छ। जनताको अपार विश्वास र अपेक्षासहित प्रधानमन्त्री बालेन्द्र शाहले नेतृत्व सम्हालिसकेका छन् भने उहाँसहित मन्त्रिपरिषद्का सदस्यहरूले पद तथा गोपनीयताको शपथसमेत ग्रहण गरिसकेका छन्।
यो केवल सरकार गठनको औपचारिकता मात्र नभई परिवर्तनको आशा बोकेको जनविश्वासको संस्थागत सुरुवात भएको विश्लेषण गरिएको छ।
नयाँ मन्त्रिपरिषद् १५ सदस्यीय रहेको छ, जसमा प्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी यसप्रकार बाँडफाँट गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरुङ, अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल, कानुन मन्त्री सोविता गौतम, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल,सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ, कृषि मन्त्री गीता चौधरी, पर्यटन मन्त्री गणेश पौडेल, शिक्षा मन्त्री सस्मित पोखरेल, सञ्चार मन्त्री विक्रम तिमिल्सिना, महिला, कृषि तथा पशुपन्छी विकास,वन तथा वातावरण मन्त्री गीता चौधरी,बालबालिका मन्त्री सीता वादी तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता रहेका छन्।
विश्लेषकहरूका अनुसार यो मन्त्रिपरिषद् केवल व्यक्तिहरूको समूह नभई देशको भविष्य निर्माण गर्ने जिम्मेवारी बोकेको टोलीका रूपमा हेरिएको छ।
नयाँ सरकार गठनसँगै अब पुराना बहाना र असफल अभ्यासहरूको अन्त्य हुनुपर्ने जनअपेक्षा स्पष्ट देखिएको छ। जनताले दिएको अवसरलाई परिणाममा रूपान्तरण गर्नु सरकारको मुख्य चुनौतीका रूपमा उभिएको छ। यस सन्दर्भमा प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीचको सहकार्य, विश्वास र साझा दृष्टिकोण निर्णायक रहने आकलन गरिएको छ।
हाल देश आर्थिक चुनौती, प्रशासनिक जटिलता, युवापुस्ताको बढ्दो निराशा तथा बाह्य भू–राजनीतिक दबाबको बहुआयामिक अवस्थाबाट गुज्रिरहेको छ। यद्यपि यिनै चुनौतीहरूभित्र अवसरसमेत निहित रहेको र इमान्दारिता, पारदर्शिता तथा दृढ नेतृत्वमार्फत त्यसलाई उपलब्धिमा रूपान्तरण गर्न सकिने धारणा व्यक्त गरिएको छ।
राजनीतिक विश्लेषणमा अब व्यक्तिको अन्ध समर्थन वा विरोधभन्दा काम र नतिजाको आधारमा मूल्याङ्कन गर्ने संस्कार विकास हुनुपर्नेमा जोड दिइएको छ। यसले लोकतन्त्रलाई थप सुदृढ र उत्तरदायी बनाउने विश्वास गरिएको छ।
यसैबीच, राष्ट्रिय दैनिक ‘जनसवाल’का सम्पादकले सरकारलाई एक वर्षसम्म रचनात्मक समर्थन गर्ने जानकारी गराएका छन्। एक वर्षपछि सरकारको कार्यसम्पादन, उपलब्धि र परिणामका आधारमा मूल्याङ्कन गरिने जनाइएको छ।
देश र जनताको हितलाई केन्द्रमा राख्दै काम गर्न सके नयाँ सरकार इतिहासमा सम्झन लायक बन्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरुङसहित सम्पूर्ण मन्त्रिपरिषद् सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।