आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

रास्वपाको मन्त्रिपरिषद खाका सार्वजनिक: सुदन गुरूङ गृहमन्त्री, वाग्ले अर्थ र खनाल परराष्ट्रमा

शुक्रबार, चैत्र १३ २०८२

काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठनसँगै नयाँ मन्त्रिपरिषद्को प्रारम्भिक खाका सार्वजनिक भएको छ। पार्टीभित्रको उच्चस्तरीय छलफलपछि प्रमुख मन्त्रालयहरूमा जिम्मेवारी बाँडफाँटको टुंगो लगाइएको हो।
रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह लगायत नेताहरूको बैठकले सुदन गुरूङ लाई गृहमन्त्री बनाउने निर्णय गरेको स्रोतले जनाएको छ। ‘हामी नेपाल’ का संस्थापक अध्यक्षसमेत रहेका गुरूङ जेनजी आन्दोलनका अगुवा मानिन्छन्। उनी गोरखा–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
यसैगरी अर्थ मन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्ले लाई दिने सहमति भएको छ भने परराष्ट्र मन्त्रालयमा शिशिर खनाल को नाम टुंगिएको छ। ऊर्जा मन्त्रालयमा विराजभक्त श्रेष्ठ लाई जिम्मेवारी दिने तयारी छ।
प्राप्त जानकारीअनुसार सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, उद्योग मन्त्रालयमा अमरेश सिंह, कानुन मन्त्रालयमा सोबिता गौतम र स्वास्थ्य तथा खानेपानी मन्त्रालयमा निशा मेहता लाई जिम्मेवारी दिने निर्णय गरिएको छ।
यस्तै भौतिक पूर्वाधार मन्त्रालयमा सुनिल लम्साल, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा सीता वादी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सस्मित पोखरेल लाई ल्याउने तयारी छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नुवाकोट–१ बाट निर्वाचित विक्रम तिमिल्सिना र श्रम मन्त्रालयमा महोत्तरीका दीपक साह लाई जिम्मेवारी दिने सहमति बनेको छ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेल ले बालेन्द्र शाह लाई देशको ४३औँ प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन्। नयाँ सरकारसँगै प्रशासनिक सुधार, सुशासन र आर्थिक पुनरुत्थानमा तीव्रता आउने अपेक्षा गरिएको छ।
अन्य मन्त्रालयहरूको जिम्मेवारीबारे छलफल जारी रहेको र बाँकी नामहरू छिट्टै सार्वजनिक गरिने रास्वपा स्रोतले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार