शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

नाताभन्दा माथि उभिएको पहिचान: अर्जुननरसिंह केसीमाथि सतही टिप्पणीप्रति कतारबाट विमल सुवेदीको आपत्ति

बिहिबार, चैत्र १२ २०८२

काठमाडौं,नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुन नरसिंह केसीलाई सामाजिक सञ्जालमा ‘नातावाद’सँग जोडेर गरिएको टिप्पणीप्रति व्यापक असन्तुष्टि व्यक्त गरिएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनपछि ज्येष्ठ सदस्यका रूपमा शपथ ग्रहण गराउने भूमिकामा रहनुभएका केसीलाई केही व्यक्तिहरूले पार्टी सभापति गगन कुमार थापाका ‘ससुरा’ को रूपमा मात्र चित्रित गरेपछि आलोचना सुरु भएको हो।
राजनीतिक विश्लेषक तथा कांग्रेस वृत्तमा आबद्ध नेताहरूले यस्तो टिप्पणीले लामो राजनीतिक योगदानको अवमूल्यन गरेको बताएका छन्। उनीहरूका अनुसार केसीको भूमिका केवल पारिवारिक सम्बन्धमा सीमित गरेर हेर्नु इतिहासप्रति अन्याय हुने धारणा छ।
इतिहासअनुसार वि.सं. २०२६ सालमा जननायक बिपि कोईरालाको निर्देशनमा गठन गरिएको ‘विद्यार्थी परिचालन कमिटी’ को संयोजकका रूपमा केसीले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। सोही समितिमा पछि प्रधानमन्त्री बनेका शेर बहादुर देउवा सदस्यका रूपमा सक्रिय थिए।
राजनीतिक जानकारहरू भन्छन्, “यो तथ्यले केसीको नेतृत्व क्षमता र अनुभव कुनै नातागत प्रभावबाट नभई आफ्नै संघर्ष र योगदानबाट स्थापित भएको स्पष्ट पार्छ।”
पञ्चायतकालीन आन्दोलनदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म सक्रिय भूमिका निर्वाह गरेका केसीले आफ्नो अलग राजनीतिक पहिचान कायम राख्दै आएका छन्। उनी निकट स्रोतका अनुसार उहाँले विभिन्न राजनीतिक उतारचढावका बीच पनि आफ्नो सिद्धान्त र अडानलाई निरन्तरता दिनुभएको छ।
यस विषयमा कांग्रेस महासमिति सदस्य बिमल सुवेदीले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै व्यक्तिको पहिचानलाई नातासँग जोडेर सीमित गर्नु अनुचित भएको बताएका छन्। उनले कुनै पनि नेताको मूल्याङ्कन गर्दा उसको ऐतिहासिक योगदान र संघर्षलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन्।
राजनीतिक वृत्तमा पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने यस्ता टिप्पणीहरूले व्यक्तित्वको समग्र मूल्याङ्कनभन्दा पनि सतही बहसलाई बढावा दिइरहेको टिप्पणी हुँदै आएको छ।
बिमल सुवेदी
महासमिति सदस्य
नेपाली कांग्रेस

प्रतिक्रिया
सम्बन्धित समाचार