काठमाडौं,गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले र सफल उद्यमी जमुना घले पुनः अष्ट्रेलियाका धनी व्यक्तिहरूको प्रतिष्ठित सूचीमा अटाउन सफल भएका छन । पछिल्लो ‘रिच लिस्ट’ अनुसार उनिहरू क्रमशः १५०औँ र १५१औँ स्थानमा रहेका छन । सन् २००९ मा पहिलोपटक शीर्ष २५० धनी सूचीमा प्रवेश गरेका घले दम्पतीले त्यसयता लगातार १८ वर्षसम्म आफ्नो स्थान कायम राख्दै उल्लेखनीय इतिहास रचेका छन्। एक समय ८०औँ स्थानसम्म उक्लिन सफल उनिहरूको वर्तमान अनुमानित सम्पत्ति करिब १.२ अर्ब अमेरिकी डलर रहेको छ, जसले उनिहरूको दीर्घकालीन व्यवसायिक सफलता र स्थायित्वलाई प्रष्ट पार्छ।
संघर्षपूर्ण विगतदेखि अन्तर्राष्ट्रिय सफलतासम्म प्राप्त गरेका घले दम्पतीको
लमजुङको साधारण परिवेशबाट सुरु भएको यात्रा आज विश्वस्तरको सफलताको उदाहरण बनेको छ। अध्ययनका लागि अष्ट्रेलिया पुगेका घलेले प्रारम्भिक दिनहरूमा आर्थिक अभाव, श्रम र संघर्षसँग जुध्दै आफ्नो आधार निर्माण गरेका थिए । सानो स्तरबाट सुरु गरिएको व्यवसायलाई क्रमशः विस्तार गर्दै उनिहरुले शिक्षा, आवास (होटल/अपार्टमेन्ट) तथा पूर्वाधार क्षेत्रमा ठूलो लगानी गरे ।
यस यात्रामा उनलाई जीवनसाथी जमुना घलेको भूमिका समान रूपमा महत्वपूर्ण रहँदै आएको थियो । व्यवस्थापन क्षमता, दूरदर्शी सोच र निरन्तर मेहनतले घले दम्पतीलाई अष्ट्रेलियाको प्रतिस्पर्धात्मक बजारमा स्थापित मात्र होइन, अग्रणी उद्यमीका रूपमा चिनाएको छ।
वर्तमान सफलता र निरन्तर प्रभाव रहेका
हाल घले दम्पतीले अष्ट्रेलियामा शिक्षा क्षेत्रसँग सम्बन्धित ठूला परियोजना, होटल तथा रियल इस्टेट व्यवसायमा सक्रिय रहँदै आएका छन । उनिहरूको लगानीले हजारौँ रोजगारी सिर्जना गर्नुका साथै बहुसांस्कृतिक समाजमा सकारात्मक प्रभाव पारेको मानिन्छ।
नेपालप्रति अटुट सम्बन्ध र योगदान दिदै आएका उनिहरुले
अन्तर्राष्ट्रिय सफलता प्राप्त गरे पनि मातृभूमि नेपालसँगको सम्बन्ध कहिल्यै टुट्न दिएका छैनन । भूकम्पपछिको पुनर्निर्माणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगसम्ममा उनिहरूको योगदान उल्लेखनीय रहँदै आएको छ। पछिल्लो समय नेपालमा लगानी विस्तार गर्ने, विकास परियोजनामा सहकार्य गर्ने र परोपकारी कार्यलाई थप संस्थागत बनाउने विषयमा उनिहरूले निरन्तर चासो देखाउँदै आएका छन ।
घले दम्पतीको निरन्तर सफलतासँगै नेपालमा प्रवासी नेपालीहरूको भूमिका पुनः चर्चामा आएको छ। विज्ञहरूका अनुसार नेपालले वैदेशिक लगानी आकर्षित गर्न स्थिर नीति, पारदर्शिता र लगानीमैत्री वातावरण निर्माण गर्न सकेमा यस्ता सफल उद्यमीहरूको पूँजी, अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई राष्ट्रिय विकासमा प्रभावकारी रूपमा उपयोग गर्न सकिन्छ।
पछिल्ला राजनीतिक तथा आर्थिक संकेतहरूले सुधारको आशा जगाइरहेका बेला घले दम्पतीजस्ता सफल प्रवासी नेपालीहरूको सक्रिय सहभागिताले नेपालको आर्थिक समृद्धिमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ।