काठमाडौँ(जस)–नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका छन् । महासंघको निर्वाचनको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचनमा हुने प्यानलगत विभाजनले निजी क्षेत्र कमजोर हुने भन्दै समझदारीमा जोड दिएका हुन् । अहिले देशमा दुई तिहाइको स्थायी सरकार बन्ने प्रक्रियामा रहेको र यस्तो बेला निजी क्षेत्र एकढिक्का हुनुपर्ने बताए ।
उनले एक ढिक्का भएर आवाज उठाए मात्रै सरकारले सुन्ने उनको भनाइ छ । आफ्नो विगतको निर्वाचन अनुभव सुनाउँदै उनले भोट दिन्छु भन्ने सबैले भोट नहाल्ने यथार्थलाई बुझ्न उम्मेदवारहरूलाई आग्रह गरे । विधानले पदहरू समेत बढाएकाले इगो त्यागेर पदाधिकारी तहमा सर्वसम्मत नेतृत्व चयन गर्न उनले वरिष्ठ उपाध्यक्ष र अन्य उम्मेदवारहरूलाई सुझाव दिए । निजी क्षेत्रको एउटै बलियो आवाजका लागि एकताको विकल्प नभएको उनको निष्कर्ष छ । उनले भने, ‘उम्मेदवार साथीहरूलाई के भन्न चाहन्छु भने हामी बसौँ । अध्यक्षज्यू, वरिष्ठ उपाध्यक्षज्यू, पूर्वअध्यक्षज्यूहरूलाई पनि म भन्न चाहन्छु हामी समझदारी गरौँ । यो विधानले वास्तवमा पदहरू पनि बढाएको छ । तपाईंहरू धेरैजना पनि हुनुहुन्न र तपाईंहरूले इगो पनि नराख्नुस् ।’ अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघको संशोधित विधानले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको प्रतिनिधित्व र अधिकारलाई व्यापक बनाएको बताए ।
यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उापाध्यक्ष तथा आगामी अध्यक्ष अञ्जन श्रेष्ठ श्रेष्ठले निजी क्षेत्रको एकता मजबुत बनाउन सबै व्यवसायी एकजुट हुनुपर्ने बताएका छन् । सोमबार श्रेष्ठ समूहका पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको घोषणा समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय निजी क्षेत्रको एकता कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।
उनले व्यवसायीहरू राजनीतिक दलको सदस्यता लिएर दलगत धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै हिँड्नु नै एकता कमजोर हुनुको प्रमुख कारण रहेको उल्लेख गरे । उनले नेपाल उद्योग वाणिज्य महासंघका सम्पूर्ण कार्यसमिति कुनै पार्टीको सदस्य नरहने भएकाले आगामी कार्यकालमा विधानमा ल्याउने पहल गर्ने बताए ।
उनले भने, ‘निजी क्षेत्रको एकताको लागि एक हुन आवश्यक छ । पछिल्लो पटक हाम्रो एकता कमजोर भएको कारण पार्टीको सदस्यता लिने र आफ्नो दलवादको कुरा गर्दै हिडेको कारण भएको हो । यसलाई रोक्नुपर्छ । विगतमा कति साथीहरुले मान्नुभएन, त्यसैले सकिएन । मेरो प्रस्ताव जिल्ला उद्योग वाणिज्य महासंघका वस्तुगत महासंघका पदाधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका सम्पूर्ण कार्यसमिति कुनै पार्टीको सदस्य नरहने थियो । यो म आगामी कार्यकालमा विधानमा ल्याउने पहल गर्नेछु ।’
उनले निजी क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने प्रस्ताव राख्दै जिल्ला उद्योग वाणिज्य संघ, वस्तुगत महासंघ तथा एफएनसीसीआईका सम्पूर्ण पदाधिकारीहरू कुनैपनि राजनीतिक दलको सदस्य नरहने व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे । उक्त प्रस्तावलाई आगामी कार्यकालमा विधानमै समावेश गर्ने पहल गर्ने उनको भनाइ थियो । श्रेष्ठले हालै सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढिरहेको र झण्डै दुईतिहाइ बहुमतसहित जनादेश प्राप्त भएको अवस्थामा देशमा परिवर्तन, हस्तान्तरण, रूपान्तरण र पुस्तान्तरणको चरण सुरु भएको बताए । यस्तो परिवर्तनलाई आत्मसात गर्दै निजी क्षेत्रले पनि आफ्ना कमजोरी सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।