शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एनआरएनए मध्यपूर्व संयोजकमा रमेश श्रेष्ठ निर्विरोध, श्रमिकको हक हितमा कार्य गर्ने प्रतिबद्धता

मंगलबार, चैत्र १० २०८२

काठमाडौं,गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को २०२६–२०२८ कार्यकालका लागि मध्यपूर्व संयोजक पदमा यूएईबाट सक्रिय अभियन्ता रमेश श्रेष्ठ पुन निर्विरोध निर्वाचित भएका छन । उनको चयनसँगै मध्यपूर्वमा रहेका लाखौँ नेपाली श्रमिकको हकहित संरक्षण, सुरक्षा र सम्मानलाई केन्द्रमा राख्ने अपेक्षा थप बलियो बनेको छ।
लामो समयदेखि यूएईसहित मध्यपूर्व क्षेत्रमा व्यवसायिक तथा सामाजिक गतिविधिमा सक्रिय श्रेष्ठ एनआरएनएभित्र अनुभवी, संयमित र परिणाममुखी नेतृत्वका रूपमा परिचित छन । उनी जिसिडी ग्रुपका अध्यक्ष हुन । साधारण सदस्यबाट सुरु भएको उनको संगठनात्मक यात्रा एनसीसी यूएईको अध्यक्ष हुँदै मध्यपुर्व डिआरसि हुँदै अन्तर्राष्ट्रिय तहसम्म पुगेको छ, जसले उनलाई व्यवहारिक र जिम्मेवार नेतृत्वको रूपमा स्थापित गरेको छ।
निर्वाचनपछि आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै श्रेष्ठले मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हक हितलाई पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पारे । उनले हाल मध्यपुर्व द्वन्दबाट समस्यामा परेका कामदारको तत्काल उद्धार, राहत तथा सहयोगका लागि आपतकालीन राहत कोष (Emergency Fund) स्थापना गर्ने घोषणा गरेका छन । उक्त कोषमार्फत दुर्घटना, बिरामी, कानुनी जटिलता वा अन्य संकटमा परेका नेपालीलाई छिटो र प्रभावकारी सहायता उपलब्ध गराइनेछ।
त्यसैगरी, मध्यपूर्व क्षेत्रमा देखिएको संस्थागत विभाजन अन्त्य गर्दै हाल रहेका दुईवटा एनसीसी संरचनालाई एकीकृत गरी सुदृढ र प्रभावकारी संगठन निर्माण गर्ने उनको प्रमुख योजना रहेको छ । “एकता नै शक्ति हो” भन्ने मान्यताका साथ उनले मतभिन्नता भएका अभियन्ताहरूबीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्दै साझा लक्ष्यमा जोड्ने पहल गर्ने बताएका छन ।
मध्यपूर्वका विभिन्न देशमा देखिएका द्वन्द्व र अस्थिरताबाट प्रभावित नेपाली श्रमिकको सुरक्षालाई विशेष ध्यान दिँदै श्रेष्ठले उद्धार, राहत तथा पुनःस्थापनाका लागि समन्वयात्मक कार्ययोजना अघि बढाउने बताएका छन । दूतावास, स्थानीय निकाय तथा सम्बन्धित संघ–संस्थासँग सहकार्य गर्दै संकटमा परेका नेपालीको हितमा शिघ्र र प्रभावकारी कदम चालिने उनको भनाइ छ।
त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको आम्दानीलाई सुरक्षित र उत्पादनमुखी लगानीतर्फ उन्मुख गराउने नीति पनि उनले अघि सारेका छन । श्रमिकमैत्री कार्यक्रममार्फत नेपालसँगको आर्थिक सम्बन्धलाई मजबुत बनाउँदै दीर्घकालीन लाभ सुनिश्चित गर्ने उनको लक्ष्य छ।
श्रेष्ठले भने, “मध्यपूर्वमा रहेका श्रमजीवी नेपालीको पीडा, अनुभव र अपेक्षालाई नजिकबाट बुझेर व्यवहारिक समाधान दिनु मेरो मुख्य जिम्मेवारी हो। संस्थाभित्रको एकता, श्रमिकको सुरक्षा र सम्मान सुनिश्चित गर्न म प्रतिबद्ध छु ।”
एनआरएनएको १२औँ एकता महाधिवेशनमार्फत निर्विरोध चयन भएका श्रेष्ठको नेतृत्वलाई मध्यपूर्वमा श्रमिक केन्द्रित नीति, संगठनात्मक एकता र प्रभावकारी कार्यान्वयनको नयाँ अध्यायको रूपमा हेरिएको छ । श्रेष्ठले आफ्नो अघिल्लो कार्यकालमा नसकिएको कार्य यो कार्यकालमा गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार